काठमाडौं। एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी धन्धा चलाएर रकम असुलेको आरोप लागेको छ।
सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिवसमेत रहेका अनिलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने प्रलोभन देखाएर सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ असुलेको आरोप लागेको हो। स्वकीय सचिवले नै ठगी धन्दा चलाएको पुष्टि भएपछि लेखासमिति सभापति पोखरेलले उनलाई जिम्मेवारीबाट निष्कासन गरेका छन्।
अनिलले आफूलाई एमबीबीएसमा उत्तीर्ण गराउन पैसा लिए पनि काम नभएपछि चौधरीले प्रहरीमा उजुरी दिन चाहे पनि नलिएको बताइएको छ। त्यसपछि चौधरीले उच्च अदालत विराटनगरमा २०७९ मा मुद्दा दर्ता गराएका थिए। उच्च अदालतले मोरङ प्रहरीलाई अनिलविरुद्ध उजुरी दर्ता अनुसन्धान गर्न परमादेश दिएपछि सभापति पोखरेलले स्वकीय सचिवबाट हटाएका हुन् ।
सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका छन्।
एमाले पार्टीका जिम्मेवार सदस्य नै ठगी धन्धामा लागेको पुष्टि भएको छ। अनिल २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए।
प्रतिनिधिसभामा सरकारको हिसाबकिताबको खोजीसोधी गर्ने महत्त्वपूर्ण अंग सार्वजनिक लेखासमितिका सभापति ऋषिकेश पोखरेल पछिल्लो समय विवादमा परिरहेका छन्।
गत मंसिर २८ गते सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भइसकेको छ। मुद्दा दर्ता भएपछि फरार कोइरालालाई प्रहरीले खोजिरहेको छ।
मोरङको उमागौरी कृषि सहकारी संस्थाबाट पोखरेलपत्नी कोइरालासहित २६ जनाले २२ करोड हिनामिना गरेको दाबीसहित ठगी प्रकरणमा जिल्ला अदालत मोरङमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिसकेको छ।