काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताएका छन् ।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौं साधारण सभामा बोल्दै श्रेष्ठले राज्यलाई यो अवस्था थाहा भए पनि समस्या समाधानतर्फ ठोस कदम चालिएको नदेखिएको आरोप लगाए ।
श्रेष्ठले देशको विकासका लागि उद्योग, व्यापार, र कृषिको प्रगति अपरिहार्य भएको बताए । तर, यी क्षेत्रहरूप्रति राज्य र बैंकिङ क्षेत्रले उपेक्षा गरेको आरोप उनले लगाए । ‘मुलुकको युवा जनशक्ति पलायन भइरहेको छ, जनसंख्या घटिरहेको छ । यस्तो स्थितिमा राज्यको नीति उपभोग घटाउनेतर्फ केन्द्रित छ, जसले गर्दा बजारमा माग घटेको र चुनौती थपिएको छ,’ उनले भने । कृषि उत्पादनलाई औद्योगिक उत्पादनमा परिवर्तन गर्दै बजार विस्तार गर्नुपर्ने उनले जोड दिए।
श्रेष्ठले उद्योग र व्यापारलाई फरक ढंगले बुझ्न र यसअनुसार नीति निर्माण गर्न सरकारलाई आग्रह गरे । ‘गभर्नरले उद्योग र व्यापारका लागि ब्याजदर फरक पार्न सुझाव दिनुभएको थियो, तर यो कार्यान्वयन भएको छैन,’ उनले भने ।
उनका अनुसार अहिले व्यापार क्षेत्रले सस्तो ब्याजदरको फाइदा उठाइरहेको छ, तर उद्योग क्षेत्र उच्च ब्याजदरको चपेटामा छ ।
श्रेष्ठले नयाँ ऋणमा ब्याजदर कम गरिएको भए पनि पुरानो ऋणका लागि त्यस्तो व्यवस्था नगरिँदा व्यवसायीहरूले गुनासो गरिरहेको बताए । ‘समस्यामा परेका व्यवसायीमाथि हर्जना लगाउने व्यवस्थाले व्यवसायको लागत थपिएको छ,’ उनले भने।
श्रेष्ठले धेरै बैंकले जिल्लामा लगानी नगर्ने प्रवृत्तिलाई सच्याउन आग्रह गरे । ‘बैंकहरूले तरलता धेरै भएको दाबी गर्छन्, तर जिल्लामा ऋण प्रवाह हुन सकेको छैन। यदि यो सत्य हो भने यसलाई सुधार गर्न आवश्यक छ,’ उनले भने।
उनले नेपालमा करको मात्रा अन्य दक्षिण एशियाली मुलुकहरूको तुलनामा अत्यधिक भएकोमा चिन्ता व्यक्त गरे । ‘नेपालमा ट्याक्स टु जीडीपी अनुपात १५ प्रतिशतभन्दा बढी छ, जबकि भारत, बंगलादेश र श्रीलंकामा यो १० प्रतिशतभन्दा कम छ। नेपाली व्यवसायीहरू धेरै नै करको भारमा परेका छन्,’ उनले भने।
श्रेष्ठले देशको आर्थिक नीति सुधार्दै उद्योग, व्यापार, र कृषिलाई सशक्त बनाउन राज्य र बैंकिङ क्षेत्रको ध्यानाकर्षण गराएका छन् ।