काठमाडौं। लक्ष्मी सनराइज बैंकले छैटौं वार्षिक ह्यासट्याग डिजिटल डिसेम्बर अभियानअन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरण बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमले डिजिटल साक्षरता प्रवर्रगर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिबद्धतालाई थप जोड दिएको छ।
कार्यक्रममा डिजिटल वित्तीय सेवाको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासबारे विविध समूहका सहभागीलाई जानकारी दिन प्यानल छलफल आयोजना गरिएको थियो। छलफल देशका सातै वटा प्रदेशका प्रमुख सहरमा सम्पन्न गरिएका थिए।
बैंकका अनुसार गणडकीको पोखरामा डिसेम्बर १४, कणार्लीको सुर्खेतमा १३ डिसेम्बर, कोसीको इटहरीमा १८ डिसेम्बर, मधेसको जनकपुरमा २० डिसेम्बर, बागमतीको हेटौंडामा २३ डिसेम्बर, सुदूरपश्चिमको धनगढीमा २४ डिसेम्बर, लुम्बिनीको भैरहवामा २७ डिसेम्बर र काठमाडौं उपत्यकामा २९ डिसेम्बरमा डिजिटल संवाद कार्यक्रम सम्पन्न गरिएको हो।
प्रत्येक कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपांगता समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधिलगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए। कार्यक्रममा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारी तथा स्थानीय समुदायका प्रतिनिधि गरी ५०० बढी सहभागी भएको बैंकले जनाएको छ।
देशका विभिन्न समुदायलाई डिजिटल साक्षरतामार्फत वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यले वित्तीय डिजिटल साक्षरता , डिजिटल बैंकिङले जीवनस्तरमा गर्न सक्ने सुधार, अर्थतन्त्र र व्यापक पारिस्थितिक प्रणालीमा डिजिल बैंकिङको फाइदा, नेपालमा सेवाक्षेत्रको डिजिटाइजेसन परिदृश्य, नेपालमा डिजिटल बैंकिङको वर्तमान अवस्था, डिजिटल बैंकिङका चुनौती (सुरक्षा, जोखिम, ठगीका प्रकार र समाधान), नेपालमा डिजिटाइजेसन र डिजिटल बैंकिङको भविष्य विषयक छलपफल गरिएको थियो।
प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै अभियानले व्यक्ति तथा व्यवसायीलाई डिजिटल बैंकिङ प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको बैंकको भनाइ छ।