काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी चार गुणाले वृद्धि गर्ने नीति अख्तियार गरे । गभर्नर नेपालको सो नीतिको चर्काे विरोध भएपछि संसदीय समितिहरुमा पनि पटक पटक उनले यो बिषयमा जवाफ पनि दिनु परेको थियो ।
गभर्नर नेपालले बाणिज्य बैंकको संख्या घटाउन उक्त नीति ल्याएका थिए । वाणिज्य बैंकको संख्या १४/१५ ओटामा झार्न २ अर्ब रहेको बैंकको पूँजी बढाएर ८ अर्ब पुर्याइयो । तर, राष्ट्र बैंकले सोच अनुसार बाणिज्य बैंकहरु एक आपसमा मर्ज भएनन् । बोनस र हकप्रद सेयर जारी गरेर तथा अन्य साना वित्तीय संस्था गाभेर उनिहरुले ८ अर्ब पूँजी पुर्याए ।
राष्ट्र बैंकको नीति अनुसार वाणिज्य बैंक नघटेपछि फेरि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विग मर्जर (वाणिज्य बैंक वाणिज्य बैंक विचको मर्जर)गर्ने नीति अख्तियार गर्न गभर्नर नेपालले बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत(सिइओ) डाकेर आफुँलाई मन पर्ने जोडी खोज्न निर्देशन दिए ।
गभर्नर नेपालले आफ्नै तरिकाले भने ‘छिटो लब पार्नुस, मौद्रिक नीतिपछि विहे गर्नुपर्छ ।’ तर बैंकहरुले गभर्नरलाई टेरेनन् । बैंकले गभर्नरलाई नटेर्नुको पनि कारण थियो । विग मर्जरमा गएपछि धेरै बैंकरहरु बेरोजगार हुनुपर्थ्र्याे । त्यतिमात्रै होइन, विग मर्जरमा जाने वित्तिकै कतिपय बैंकहरुले स्थापित गरेको आफ्नो साम्राज्य नै ध्वस्त हुने अवस्था आउथ्यो ।
सोहि कारण पनि वाणिज्य बैंकहरुले मौद्रिक नीति अगावै मर्जरमा जाने व्यहोराको नाम मात्रको प्रतिवद्धता राष्ट्र बैंकमा पेश गरे । सो प्रतिवद्धतामा कस्तो वित्तिय संस्थासँग मर्जर जाने या प्राप्ती गर्ने भन्ने पनि उल्लेख थिएन । मौद्रिक नीति अघि ग्लोबल आइएमई र जनता बैंक बाहेक अन्यले मर्जरमा जाने सम्झौता गरेनन् ।
बाणिज्य बैंकहरुले आफ्नो अस्तित्व हराउन नदिनकै लागि यसरी राष्ट्र बैंकलाई पनि झुक्याइरहेको छ । राष्ट्र बैंकले चाहेजस्तो बाणिज्य बैंकको संख्या घट्ने सम्भावन पनि कम देखिन्छ । अहिले बजारमा चार बाणिज्य बैंकहरु भने मर्जरमा जाने छलफलमा जुटेका छन् । एनसीसी बैंक र प्रभु बैंक मर्जरमा जाने लगभग टुंगो लागिसकेको छ ।
त्यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मर्जरमा जाने छलफल अगाडी बढाएका छन् । तर, यी बैंकहरु मर्जरमा गएपनि राष्ट्र बैंकले चाहे जस्तो बाणिज्य बैंकको संख्या नघट्ने भने निश्चित छ ।
पछिल्लो समय विग मर्जरको नीतिबाट राष्ट्र बैंक पछि हटेसँगै बैंकलाई झन ढुक्क भएको छ । सोहि कारण अब वाणिज्य बैंकहरु संख्या घटाउनुभन्दा चुक्ता पूँजी बढाएर २० अर्व पुर्याउने दाउमा लागेका छन् । त्यसको प्रभाव बजारमा देखिन थालेको छ । वाणिज्य बैंकले धमाधम विकास बैंकलाई प्राप्ती गर्न थालेका छन् ।
जसले गर्दा विकास बैंकलाई आफनो अस्तित्व जोगाउनै मुस्किल पर्न थालेको छ । पछिल्लो चार वर्षको अवधिमै ५१ वटा विकाश बैंकहरुको संख्यामा कमी आएको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा ७६ ओटा रहेको विकास बैंकको संख्या अहिले २५ मा सिमित भएको छ । त्यसमध्ये पनि ४ ओटा विकास बैंकलाई विभिन्न वाणिज्य बैंकहरुले प्राप्ती गर्ने भएको छ । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न सैद्धान्तिक सहमति गरेको छ । त्यस्तै, सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्ने भएको छ भने एनएमबी बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने छलफल चलिरहेको छ । यसअघि पनि असोज १२ देखि एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकिकृत कारोबार सुरु गरिसकेको छ ।
बाणिज्य बैंकले विकाश बैंक प्राप्ती गर्ने अभियान नै थालेपछि विकास बैंकको अस्तित्व संकटमा परेको भन्दै एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले चिन्ता ब्यक्त गरे । तर, राष्ट्र बैंकले भने विकाश बैंकको अस्तित्व संकटमा पर्न नदिने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बजारको आवश्यकता अनुसार विकास बैंकहरु रहने बताए ।
उदार अर्थतन्त्रमा जतिसुकै वितीय संस्था संचालन हुन सक्ने तर, सुपरिवेक्षण महत्वपुर्ण उनको भनाई छ । बैंक तथा वित्तीय संस्थाहरुलाई फोर्स भन्दा पनि स्वतःस्फूर्त मर्जरमा जान प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीति रहेको उनले बताए । राष्ट्र बैंकको लचिलो नीतिका कारण वाणिज्य बैंकहरु आपसमा मर्ज नभई साना बित्तिय सस्था प्राप्ती गर्न लागिपरेका हुन् ।
तर, ठूला बैंकहरु मर्जरमा जादा तयारी र समय धेरै लाग्ने भएकोले साना बित्तिय सस्था प्राप्ती गर्न बाणिज्य बैंकलाई सजिलो हुने बैंकर्स संघका अध्यक्ष भूवन दाहाल बताउछन् । बैंक सुपरभिजनको आँखाले बढी देखिएको बैंक तथा वित्तीय संस्थाको संख्या अहिले घटिरहेको उनको भनाई छ । अध्यक्ष दाहालले भने ‘संस्थागत रुपमा राम्रा र बलिया भएपछि वाणिज्य बैंक, विकास बैंक भन्ने वर्गले फरक पार्दैन ।’ पछिल्लो समय वाणिज्य बैंक पनि घटेर २७ वटामा झरेको उनले बताए ।