काठमाडौं। नेपाल घुमफिरमा आउने पर्यटकमध्ये सबैभन्दा बढी संख्या भारतीयको हुने गरेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ मा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका हुन्।
हवाई मार्गमार्फत आउने पर्यटकको मात्र गणना हुँदा पनि भारतको संख्या धेरै देखिएको हो।
सन् २०२४ मा भारतबाट ३ लाख १७ हजार ७७२ जनाा पर्यटक नेपाल आएका छन्। २०२३ को तुलनामा भारतबाट आउने पर्यटकको संख्या भने घटेको छ। सन् २०२३ मा ३ लाख १९ हजार ९३६ जना पर्यटक आएका थिए।
भारतपछि नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा बढी अमेरिका बनेको छ। अमेरिकाबाट २०२४ मा १ लाख ११ हजार २१६ जना आएका थिए। सोही मुलुकबाट सन् २०२३ मा १ लाख ३५७ जना आएको तथ्यांक बोर्डसँग छ।
यस्तै, छिमेकी चीनबाट १ लाख १ हजार ८७९ जना आएका छन्। सन् २०२३ मा ६० हजार ८७८ जना पर्यटक आएका थिए। कोभिड अघिसम्म चीनबाट आउने पर्यटक संख्या भारतपछि दोस्रोमा थियो। तर, पछिल्लो समय निरन्तर तेस्रोमा परिरहेको छ।
बोर्डका प्रवक्ता मणिराम लामिछानेले कोभिडपछि चीनबाट आउने पर्यटक संख्यामा रिकभर हुन नसकेको बताए। ‘दूरीको हिसावले भारतपछि चीनबाट आउने संख्या बढ्नुपर्ने हो,’ प्रवक्ता लामिछानेले भने, ‘चीनबाट सोचेजति पर्यटक ल्याउन सकेका छैनौं, अवको ध्यान चीन केन्द्रित हुनेछौं।’
चीनले कोभिडपछि गत वर्षदेखि मात्र आफ्ना नागरिकलाई मुलुकबाहिर घुम्न जान अनुमति दिएको थियो। नेपालमा सबैभन्दा बढी पर्यटक आउने १० मुलुकमध्ये चौथो स्थानमा बेलायत परेको छ। त्यहाँबाट ५७ हजार ५५७ जना नेपाल घुम्न आएका छन्।
यस्तै, बंगलादेशबाट ४८ हजार ८४८, अस्ट्रेलियाबाट ४३ हजार ९८०, थाइल्यान्डबाट ३० हजार ७४५, श्रीलंकाबाट ३० हजार २२६, जर्मनीबाट २९ हजार ८०१, र दक्षिण कोरियाबाट २७ हजार ७१ जना नेपाला आएका छन्।
सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन २०२३ को सोही अवधिको तुलनामा १३.१ प्रतिशतले बढेको हो।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सुरु भएदेखि नै बढेको सामूहिक प्रयास र साझेदारीका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको बताए। कोभिड महामारीपछि पर्यटन क्षेत्र रिकभर भइरहेको बताउँदै अबका बाँकी दिनमा अझै राम्रो हुने विश्वास व्यक्त गरे।