काठमाडौं। भारतमा लगातार चारपांग्रे सवारीसाधनको मूल्यमा गिरावट आइरहेको छ। भारतीय अटो बजारमा स्टक गाडीको संख्या बढ्दै गएपछि अटो व्यवसायीले ठूलो परिमाणमा मूल्य घटाएका हुन्।
स्टक गाडीको संख्या बढ्दै गएर सवारीसाधन बिक्रीमा गिरावट आएपछि अधिकांश भारतीय अटो व्यवसायीले डिसेम्बरभरिका लागि मूल्य कटौती गरेका हुन्।
भारतमा सवारीसाधन उत्पादन गर्ने सबै ब्रान्ड र बिक्री गर्ने कम्पनीले मूल्य घटाएका छन्। भारतीय बजारमा सवारीसाधनको मूल्य ठूलो मात्रामा घटेपछि त्यसको प्रभाव नेपालमा पर्छ/पर्दैन भन्ने चासोको विषय हो। अर्थात्, भारतीय बजारमा अटो ब्रान्डले सवारीसाधनको मूल्य घटाएपछि नेपालमा मूल्य घट्छ वा घट्दैन भन्ने विषयमा धेरैले चासो राखेको देखिन्छ।
नेपालमा भारतीय उत्पादनका टाटा, एमजी, सुजुकी, महेन्द्रालगायतका ब्रान्ड आउने गरेका छन्। यी सबै ब्रान्डको मूल्य भारतीय अटोबजारमा ठूलो मात्रामा घटेको छ। भारतीय बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको टाटा मोटर्सले सबैभन्दा धेरै मूल्य घटाएको छ। भारतमा सबैभन्दा धेरै मूल्य टाटाले घटाए पनि नेपालमा नघट्ने टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ।
भारतमा डिसेम्बरभरका लागि मूल्य घटेको हो। ‘हामीले ३/४ महिना अगाडि अर्डर गरी आयात गर्ने भएकाले अहिले तत्कालका लागि मूल्य घट्दैन,’ कम्पनी स्रोतले भन्यो। नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका सन्दीप क्षेत्रीले भारतमा मूल्य घटे पनि नेपालमा नघट्ने बताए।
‘भारतमा गाडी उत्पादकले आन्तरिक प्रतिस्पर्धाका लागि मूल्य घटाइरहेका हुन्। हामीले पनि दसैं–तिहारजस्ता पर्वमा घटाएका थियौं। अहिले भारतमा घट्नेबित्तिकै नेपालमा पनि घट्न सम्भव छैन,’ उनले भने। कम्पनीले नेपालमा सकेसम्म कम मूल्यमा गाडी बिक्री गरिरहेकाले अहिले घट्न सम्भव नभएको उनको भनाइ छ।
‘भारतमा कुनै स्किम सार्वजनिक हुँदा नेपालमा त्यस्तो हुँदैन। नेपालमा लागेका बेला भारतमा हुँदैन,’ उनले भने, ‘हामीले नेपालमा चाडपर्वमा डिस्काउन्ट दिएका बेला उनीहरूले दिएका हुँदैन। त्यसैले भारतमा घट्यो, नेपालमा पनि घटाउनुपर्छ भन्ने हुँदैन।’
अहिले भारतमा एमजी जेडएस ईभीमा २ लाख २५ हजार भारु, एमजी हेक्टरमा २ लाख र एमजी कोमेटमा २५ हजार भारुसम्म छुट दिइएको छ। कम्पनीले यो छुट डिसेम्बरभरका लागि दिएको हो।
भारतमा टाटा मोटर्सले सबै उत्पादनको मूल्य घटाएकाे छ। टाटाले टियागो ईभीको २०२४ मोडलमा १ लाख १० हजार भारु, २०२३ मोडलको टियागो र टिगोर ईभीमा २ लाख हाराहारी र नेक्सन ईभीमा ३ लाख भारुसम्म छुट दिएको छ भने कम्पनीले पन्च ईभीमा ७० हजारसम्मको छुट दिएको छ।
स्टक हटाउन टाटा मोटर्सपछि महिन्द्राले ३.६ लाख भारुसम्म दिएको छ। महिन्द्राले ईभी एक्सयूभी ४०० मा ३ लाख १० हजार भारुसम्म छुट दिएको जनाएको छ।
भारतमा सबैभन्दा बढी टाटा मोटर्सले मूल्य घटाएकाे छ। टाटाले टियागो ईभीको २०२४ मोडलमा १ लाख १० हजार भारु, २०२३ मोडलको टियागो र टिगोर ईभीमा २ लाख हाराहारी र नेक्सन ईभीमा ३ लाख, पन्च ईभीमा ७० हजारसम्म मूल्य कटाैती गरेकाे छ।
थार थ्री डोर ४ डब्लुडीमा ३.६ लाख, थार थ्री डोर २ डब्लुडीमा १.३ लाख, बोलेरो लाइनअपमा १.४ लाख र बोलेरो नियो कम्प्याक्टमा १ लाख छुट दिएको छ। यस्तै, बोलेरो नियो प्लसमा १ लाख छुट दिएको छ। महिन्द्रा एक्सयूभी ३०० बिक्री नभएका अधिकांश २०२३ मोडलका छन्। यिनमा १ लाख ८ लाख भारुसम्म छुट दिइएको छ।
यसैगरी मारुती सुजुकीको फ्ल्यागसिप एसयूभी ग्रान्ड भिटारामा १ लाख ५ हजार र जिम्रीमा २ लाख भारु छुट दिएको छ।
नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोर्टसका सिनियर मार्केटिङ करुण शाक्यले मूल्य घटेको जानकारी नपाएको प्रतिक्रिया दिए। ‘विद्युतीय गाडीमा भारतमा मूल्य घटेको खबर सुने पनि इन्धन गाडीको मूल्य घटेको जानकारीमा छैन,’ शाक्यले भने।