काठमाडौं । प्राधिकरणको नेतृत्व सम्हालेको तीनबर्ष पूरा भएको अवधिमा भदौ २९ गते कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै भनेका थिए, ‘घरबेटीले प्राधिकरणको विद्युत् व्यापार गर्न पाउदैन । यस्तो नियममा छैन् । उहाँहरुले घरभाडा लिन पाउनुहुन्छ तर, विद्युत्मा बढी असुल्न पाउनुहुन्न ।’
बढी महशुल लिएको गुनासो डेरावालले लिएर आएमा त्यस्ता घरधनीलाई छानबिन गरी कारबाही गर्ने उनको उद्घोष थियो । तर, प्राधिकरणको कुनै पनि कार्यालयमा ६ महिनाबित्दा पनि त्यस्तो गुनासो सुन्ने डेस्क निर्माण भएको छैन ।
डेस्क नछुट्याइए पनि बढी विद्युत् महशुल लिएका गुनासा भने छिटपुट आइरहेको प्राधिकरणका सुचना अधिकारी लिला अर्यालले बताइन् । तर, त्यस्ता गुनासा उपर हालसम्म कारबाही प्रक्रिया अघि नबढाएको उनले जानकारी दिइन् । उनले भनिन् ‘उपभोक्ताले औपचारिक रुपमै प्राधिकरणमा आएर गुनासो गर्ने गरेपनि ग्राहकका गुनासो सुन्न छुट्टै डेस्क तयार भएको छैन । गम्भीर उजुरी आएमा भने हामी कारबाहि अगाडी बढाउन तयार छौ ।’
उक्त कार्यक्रममा घरधनीले विद्युत् व्यापार गरेको थाहा पाए आफुलाइ फोन मार्फत पनि उजुरी गर्न सकिने कुलमानले सबैलाई आग्रह गरेका थिए । तर, हालसम्म पनि विद्युत् उपभोक्ताले न कुलमानको नम्बर पाए न त गुनासो राख्ने स्थान नै पाएका छन् । सोहि कारण अहिले पनि डेरावाला उपभोक्ताहरु घरधनीले तोकेकै दरमा बिद्युत महशुल उपभोग गर्न बाध्य छन् ।
काठमाडौं नयाँबजारस्थित धारागल्लीमा एउटा कोठा भाडा लिएर बस्ने उपभोक्ताले प्रतिमहिना २ सय रुपैयाँ बुझाउदै आएका छन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘मैले बिजुलीको २ सय रुपैयाँ घरबेटीलाइ बुझाउनुपर्छ । कोठामा बत्तीबाहेक अरु उपकरण प्रयोग गर्दिन् ।’ उनका अनुसार सो घरमा १५ कोठा भाडामा लगाइएको छ ।
हरेक डेरावालाबाट २ सय रुपैयाँका दरले बिद्युत महशुल उठाएर मासिक ३ हजार रुपैयाँ घरधनीले कमाई गर्छ । अन्यत्र, डेरा पाउन कठिन हुँदा घरधनीले भनेकै महशुल तिर्न बाध्य भएको उनी बताउँछन् ।
त्यस्तै, नयाँ बानेश्वर डेरामा वस्ने रुपेश कार्की पनि घरधनीबाट महशुलमा ठगिएको गुनासो गर्छन् । घरधनीले प्रतियुनिट १० रुपैयाँ प्राधिरणलाई बुझाएपनि आफूसँग प्रतियुनिट १५ रुपैयाँ असुल्ने गरेको उनले बताए ।
प्राधिकरणले घरायशी ग्राहकका हकमा मुख्य मिटरमा उठेको आधारमा न्युनतम ३ रुपैयाँदेखि अधिकतम १३ रुपैयाँसम्म विद्युत् महशुल तोकेको छ । १३ रुपैयाँ युनिटभन्दा बढि महशुल लिनु ठगी भएको प्राधिकरणले बताएको छ । घरधनीले मुख्य मिटरमा उठेको महशुल दरबाहेक अतिरिक्त महशुल उठाउन नमिल्ने बताउदै आएको छ ।
तर, घरबेटीले डेरावालका लागि राखिदिएको सब—मिटरसँग प्राधिकरणको कुनै सम्बन्ध नहुने प्रवक्ता प्रबल अधिकारी बताउँछन् । ‘प्राधिकरणले घरधनी ग्राहककोमा जडान गरेको मुख्य मिटरसँग मात्रै सम्वन्ध राख्छ । सवमिटरसँग प्राधिकरणको कुनै चासो हुँदैन’ उनले भने, ‘घरवाला र डेरामा बस्नेहरुसँगको निजी मामिला हो, त्यस्मा प्राधिकरणले अनुगमन गर्ने र रखबारी गर्ने व्यवस्था छैन् ।’
कति तिर्नुपर्छ विद्युत महशुल
विद्युत् प्राधिकरणले अहिले ५ एम्पिएरको २० युनिट भन्दा कम प्रति महिना खपत भएमा ३ रुपैयाँ प्रति युनिट र ३० रुपैयाँ सेवा शुल्क लिन्छ । अर्थात २० युनिटसम्म खपत गर्ने ग्राहकबाट ९० रुपैयाँ महशुल लिन्छ । खपत युनिट बढ्दै जादाँ सेवा शुल्क र प्रतियुनिट महसुल दर पनि बढ्दै जान्छ ।
त्यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क ५० रुपैयाँ र प्रतियुनिट ७ का दरले लिने महशुल तिर्नुपर्छ । यस आधारमा ३० युनिटसम्म खपत गर्ने ग्राहकले १२० रुपैयाँ महसुल तिर्नुपर्छ । त्यस्तै, ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क ७५ रुपैयाँ, प्रतियुनिट ८ रुपैयाँ ५० पैसाका दरले महशुल तिर्नुपर्छ ।
प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवा शुल्कबापत १०० रुपैयाँ र प्रतियुनिट १० रुपैयाँका दरले तिर्नुपर्छ । १५१ देखि २५० युनिटसम्म सेवा शुल्क १२५ रुपैयाँ र प्रतियुनिट ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्कबापत १५० रुपैयाँ र प्रतियुनिट १२ का दरले तिर्नुपर्छ र त्यसभन्दा माथि सेवा शुल्क १७५ र प्रतियुनिट १३ का दरले तिर्नुपर्ने व्यवस्था छ ।
एक महिनामा ४ सय भन्दा बढी युनिट विद्युत खपत गर्नेलाई प्रधिकरणले १३ रुपैयाँ प्रतियुनिट र १ सय ७५ रुपैयाँ सेवा शुल्क लिदै आएको छ । सो महसुल पाँच एम्पियर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको हुने गरेको छ ।
यस्तै १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको महसुलमा भने सामान्य बढी मात्रै रहेको छ । तर, शहरी क्षेत्रमा घर बहालमा बस्नेबाट भने घरवालाले मनलाग्दी शुल्क लिदैं आएका छन् ।