काठमाडौं। मुलुकमा आर्थिक मन्दी र युवा पुस्ता पलायनले हरेक क्षेत्र प्रभावित भइरहेकाे छ। ठूला उद्योग, व्यवसायदेखि चियापसल चलाउनेसम्मकाे एउटै गुनासाे सुनिन्छ–मान्छे बाहिरिए, सामान किन्ने घटे।
मन्दीका कारण बाक्ला कपडा व्यापारमा समेत संकुचन आएको छ। जाडो मौसम सुरु भएसँगै कपडा बजारमा बेग्लै किसिमको रौनक देखिन्थ्यो। तर, अहिले त्यस्ताे छैन। स्टकमा रहेका कपडासमेत नबिकेर हैरान छन्, व्यापारी।
लत्ताकपडा व्यवसायीले जाडो मौसम सुरु हुनुअगावै बाक्ला कपडा भारत, चीनसहितका मुलुकबाट नेपाल भित्र्याउँथे। तर, विगतका वर्षको तुलनामा यस वर्ष बाक्ला कपडा व्यापार कम भएको र पुरानै स्टकमा रहेका कपडा होलसेलमा समेत बिक्री नभएको गुनासो व्यवसायीको छ।
गर्मी मौसमको तुलनामा जाडोमा तुलनात्मक रुपमा कपडा व्यापार बढी हुने गर्छ। यसैले पनि जाडो मौसम कपडा व्यवसायीका लागि व्यापारको हिसाबमा महत्त्वपूर्ण समय हो। तथापि, आर्थिक मन्दी र युवा पुस्ताको ठूलो हिस्सा बिदेसिएका कारण कपडा व्यवसायले गति लिन नसकेको व्यवसायीको भनाइ छ। केही वर्षदेखि कपडा व्यापार संकुचित बनेको गुनासो व्यवसायीले गर्दै आएका थिए।
विगत वर्षको कपडा स्टकमा रहिरहेका बेला यस वर्ष भित्र्याइएका जाडो मौसम लक्षित कपडा बिक्री नभएपछि व्यवसायीमा थप चुनौती थपिएको छ। विशालबजारस्थित पिपुल्स प्लाजामा रहेको पेलेस पसलकी व्यापारी अनुजा नेपाल अघिल्ला वर्षको तुलनामा यस वर्षको व्यापारमा संकुचन आएको बताउँछिन्। उनका अनुसार पछिल्लो केही वर्षदेखि नेपाली कपडा बजारको व्यापार निरन्तर खुम्चिँदै गएको छ।
‘नेपाली बजारमा कपडाको व्यापार हरेक वर्ष निरन्तर घट्दै गएको छ। व्यापार खुम्चिँदै गएका कारण हामीसँग अघिल्ला वर्षकै कपडा धेरै स्टकमा छन्। बजारले नयाँ डिजाइनका कपडा माग गर्ने भएकाले फेरि आयात नगरी हुँदैन,’ अनुजा भन्छिन्, ‘अहिले स्टकमा रहेका मात्रै बिक्री नहुने होइन। यसै वर्ष भित्र्याइएका नयाँ कपडाको ठूलो हिस्सा बिक्री भएको छैन।’
उनका अनुसार अन्तर्राष्ट्रिय होलसेल बजारबाट १ हजार पिस कपडा ल्याउँदा ७ सय पिस बिक्री गरेर बाँकी तीन सय पिस अर्को वर्ष स्टकमा राखेर होलसेलमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ। अनुजाले पछिल्लो समय बढी चल्तीमा रहेका ऊलन बडिकन्, ऊलन सेट, ट्रयाकसुट, ज्याकेट तथा युनिसेक्सका कपड बिक्री गर्दै आएकी छिन्। यी सबै ब्रान्डका कपडा व्यापारमा कमी आएको अनुजा बताउँछिन्।
नेपालमा हुडी, उल्लनसेट, कार्डिगन, ज्याकेट, लङकोटलगायत कपडा चीन, भारत तथा थाइल्यान्ड आदि मुलुकबाट ल्याइने गरेको छ। करिब एक दशकदेखि कपडाको व्यापार गर्दै आएकी अनुजाले दुई जनालाई रोजगारीसमेत दिएकी छन्। तर, खुम्चिँदो व्यापारले चुनौती थपेको अनुभव छ।
बानेश्वरस्थित रोयल फेसन हबका व्यापारी रामकुमार नेपाल पनि यस वर्ष बाक्ला कपडाको व्यापार निरन्तर खुम्चिँदै गएको बताउँछन्। ‘अघिल्ला वर्षको तुलनामा यस वर्षको बाक्ला कपडाको व्यापार निकै कम भएको छ। आर्थिक मन्दी रहिरहँदा र सबैभन्दा धेरै कपडा खपत गर्ने युवा समूह बिदेसिँदा त्यसको असर बजारमा देखिएको हो,’ रामकुमार भन्छन्, ‘हरेक वर्ष व्यापार ओरालो लाग्दा व्यवसाय सञ्चालनमा कठिन भएको छ।’
युवा पुस्ताको विदेश पलायन र आर्थिक मन्दीका कारण जाडो मौसमलक्षित भित्र्याइएका बाक्ला कपडा ऊलन सेट, कार्डिगन, ट्रयाकसुट, ज्याकेटलगायत कपडा व्यापार संकुचित हुँदा व्यवसायीलाई घाटा खानुपर्ने अवस्था छ।
रामकुमारले खासगरी युवालक्षित कपडा बिक्री गर्दै आएका छन्। पफर ज्याकेट, फर ज्याकेट, हुडी, उल्लन आउटरलगायत विभिन्न कपडा बिक्री गर्दै आएका उनी खरिदका लागि पसल आउने मानिसको संख्या कम भएको बताउँछन्। तर, न्यूरोडको होलसेलबाट सामान आयात गर्ने भएकाले स्टकमा सामान धेरै नरहेको उनले बताए।
यस वर्ष समग्र कपडा व्यापार खुम्चिँदै जाँदा नेपालमा उत्पादन भएका नेपाली ब्रान्डका कपडाको व्यापार भने झनै घटेर गएको छ। ग्राहकले नेपाली उत्पादनभन्दा विदेशी कपडामा आकर्षित भएपछि नेपाली ब्रान्डका कपडा व्यापार झनै खस्किएको हो।
ग्राहकका लागि जाडो मौसमका कपडा पसल, डिपार्टमेन्ट स्टोरमा मात्र नभई अनलाइन अर्डरबाट समेत खरिद गर्न सकिने सुविधा छ। तथापि, यी सबै माध्यमको व्यापार संकुचन आएको व्यवसायी बताउँछन्।
युवा पुस्ताको विदेश पलायन र आर्थिक मन्दीका कारण जाडो मौसमलक्षित भित्र्याइएका बाक्ला कपडा ऊलन सेट, कार्डिगन, ट्रयाकसुट, ज्याकेटलगायत कपडा व्यापार संकुचित हुँदा व्यवसायीलाई घाटा खानुपर्ने अवस्था छ।
नेपाली कपडा उत्पादन उद्योग लोगोका संस्थापक सोनाम मुक्तान भन्छन्, ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार धेरै कम हुनुका साथै खपत पनि घटेका बताउँछन्। नेपालमा निर्मित पुरुष र महिला दुवैका लागि डिजाइनर कपडा उद्योग लोगोले गुणस्तर उत्पादन गर्दै आएको छ। यसपालि व्यवसाय खुम्चिएको उनको भनाइ छ। सोनामका अनुसार अघिल्लो वर्षको तुलनामा लगभग ७० प्रतिशतले व्यापार कम भएको छ।