काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगीमा १ अर्ब ५१ करोड बढी रकम अपचलन गरेको दाबीसहित रवि लामिछानेसहितका ६३ जनाविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सकिएपछि कास्की जिल्ला अदालतमा प्रतिवादीका वकिलको बहस सुरु भएको छ।
६३ जनामध्ये सूर्यदर्शन सहकारी ठगीमा परेका पीडितको पूरक जाहेरीका आधारमा अहिले रविसहित ७ जनाविरुद्ध अदालतमा थुनछेक बहस सुरु भएको हो।
लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, नेचर हर्ब्स इन्टरनेसनल सञ्चालक रामप्रसाद खनाल, लीला पछाई, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङविरुद्ध कास्की जिल्ला अदालतमा थुनछेक बहस चलेको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी ठगी आरोपमा गत वर्ष असोज १८ गते १९ ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले पनि जिल्ला अदालतमा विचराधीन छ। रविहरुविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग अदालतमा पेस गरिएको छ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईलगायतविरुद्ध मुद्दा दर्ता गरिएको छ। आज लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूले बहस गर्दै छन्।
मंगलबार र बुधबार सरकारी वकिलले बहस गरेका थिए। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा मंगलबार जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले बहस गरेका थिए।
उनीहरूले मुलुकी फौजदारी संहिताले गरेको व्यवस्थाअनुसार प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाउनुपर्ने सुझाव दिएका थिए।
बुधबार नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेलगायतले पनि अदालती बहसमा रविहरुलाई कारागार पठाउनुपर्ने बताएका थिए।
आज लामिछानेका तर्फबाट १५, पूर्वडिआइजी जोशीका तर्फबाट ६, लीला पछाईका १ जना र बाँकी प्रतिवादीका तर्फबाट २÷२ जना कानुन व्यवसायीले बहस गर्नेछन्।