काठमाडौं। आगामी पुस २५–२६ सम्म काठमाडौंमा बस्ने तय भएको नेपाल–भारत अन्तरसरकारी समिति बैठकमा नेपाली पक्षले भारतीय गुणस्तर (बिआईएस) र थप सुक्खा बन्दरगाह उपयोगलाई मुख्य एजेन्डा बनाउने भएको छ।
नेपाली पक्षले लामो समयदेखि बस्न नसकेको दुई देशबीचको सचिवस्तरीय बैठकको मिति तय भएसँगै दुई एजेन्डालाई प्राथमिकतासाथ उठाउने भएको हो। बिआईएसका कारण नेपालको निर्यात निरन्तर प्रभावित भइरहेको मुद्दा यस पटकको आईजीसी बैठकमा प्रमुख प्राथमिकताका साथ उठाइने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको सक्रियतामा बस्न लागेको बैठकमा थप दुई सुक्खा बन्दरगाह प्रयोग गर्न दिने विषय पनि उठाइने भएको हो। अहिलेसम्म नेपालले तीन वटा सुक्खा बन्दरगाहा प्रयोग गर्दै आएको छ।
तर, ती सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक सामान आयात–निर्यात गर्दा नेपालको लागत बढी पर्ने र छोटो बाटोको रुपमा नयाँ बन्दरगाहा उपभोगका लागि अनुमाति मागिने भएको हो।
नेपाल–भारतबीच व्यापार, पारवहन र अनधिकृत व्यापार नियन्त्रणका लागि बनेको सचिवस्तरीय अन्तरसरकारी समिति (आईजीसी) बैठक तीन वर्षपछि हुन लागेको हो।
पुस अन्तिम साता काठमाडौं बस्ने बैठकमा हाल सञ्चालनमा रहेका तीन वटाभन्दा नजिक पर्ने गरी दुई सुक्खा बन्दरगाह उपयोग र बिआईए नवीकरण नहुँदा निर्यात प्रभावित भएपछि सरकारले यी विषय प्राथमिकतामा राखेको उद्योगमन्त्री भण्डारीले जानकारी दिए।
मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जनवरी ९/१० ( पुस २५ र २६) गते काठमाडौंमा आईजीसी बैठक बस्ने निश्चित भएको बताए। बैठकका लागि अहिले एजेन्डा तयार गरिरहेको बताउँदै थप सुक्खा बन्दरगाह उपभोग विषय समावेश भएको उनको भनाइ छ।
हाल उपयोग गरिरहेका सुक्खा बन्दरगाह भारतको पूर्वी क्षेत्रमा रहेकाले पश्चिमतर्फ दुई वटा थप प्रस्ताव गरिएको उनले बताए। पश्चिमतर्फ सञ्चालन गर्न सके १५ दिन समय घट्ने र लागत पनि कम हुने सरकारी अधिकारीको अनुमान छ।
बिआईएसका कारण नेपालको निर्यात निरन्तर प्रभावित भइरहेको मुद्दा यस पटकको आईजीसी बैठकमा प्रमुख प्राथमिकताका साथ उठाइने भएको छ।
यस्तै, नेपालबाट भारत सामान निर्यात गर्दा प्रत्येक वर्ष गुणस्तर नवीकरण गर्नुपर्ने र समयमै नवीकरण नहुँदा समस्या भइरहेको छ। समयमै बिआईएस नवीकरण नहुँदा सिमेन्ट, जुत्ताचप्पल, स्टिललगायत सामग्री भारतीय बजारमा जान सकेको छैन।
नेपालका स्टिल, जस्तापाता, सिमेन्ट, जुत्ता, सेनेटरी प्याड, प्लाइउडलगायत उत्पादन भारत निकासी प्रभावित भइरहेका बेला आईजीसी बैठक तय भएको छ। पछिल्लो समय भारतले भारतीय गुणस्तर चिह्न (बिआइएस)को कारण देखाउँदै नेपालका विभिन्न उत्पादनको निकासीमा अवरोध गरिरहेको छ।
उद्योगमन्त्री दामोदर भण्डारीले भारतीय समकक्षीसँग यस विषयमा कुरा गरे पनि र भारतीय दूतावासमार्फत दुईपटक पत्राचार गर्दासम्म समस्या समाधान भएको छैन।
त्यसबाहेक सरकारले निजी क्षेत्रसँग पनि आवश्यक सुझाव लिएर थप गृहकार्य गरिरहेको छ। हरेक वर्ष नेपाल र भारतमा आईजीसी बैठक हुने गरेकामा तीन वर्षदेखि रोकिएको थियो। गत वर्ष भारतमा बैठक बस्ने भनिए पनि नेपालको अस्थिर राजनीतिका कारण बसेको थिएन।