काठमाडौं। ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको पहिलो महिना पहिलो दिन (जनवारी १) आज ठोरी भारतीय पर्यटक खचाखच भएका छन्। ठोरीमा छिमेकी मुलुक भारतका साथै स्वदेशी पर्यटकको आगमन बढेको हो। ठोरी जंगल रिसोर्टका सञ्चालक धिर सिंहले नयाँ वर्षका अवसरमा भारतीय पर्यटकले ठोरीका होटल भरिएको बताए।
‘भारतीय पहुनाको आगमन बढेसँगै हामीलाई भ्याइनभ्याई छ,’ उनले भने, ‘ठोरीका अधिकांश होटल भरिएका छन्।’ पछिल्लो समय ठोरी बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ। भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी आउने गरेका छन्।
ठोरी गाउँपालिका २ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन्। पर्यटकको आगमन बढेसँगै त्यहाँ होटल र रेष्टुरेन्ट खुल्न थालेका छन्। हाल छ वटा स्तरीय होटल तथा रेष्टरेष्ट सञ्चालनमा रहँदै आएका छन्। ठोरी तीन वटा राष्ट्रिय निकुञ्जको संगमस्थल हो। वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृतिप्रेमी पर्यटकको केन्द्रविन्दु बन्दै आएको छ।
भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका पर्यटन व्यवसायी सिंहले बताउँछन्।
औपचारिक रूपमा नेपाल आउने भारतीय पर्यटकको संख्या नगण्य छ। अध्यागमन कार्यालयका अनुसार सन् २०२४ मा वीरगञ्ज नाकाबाट दुई हजार ८६ जना पर्यटक नेपाल भित्रिएका थिए।