काठमाडौं। ग्लोबल आइएमई बैंकले स्थापनाको १८औं वार्षिकोत्सव अवसरमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।
बैंक पुस १८ देखि १९औं वर्ष प्रवेश गर्दै छ।
अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
शिविरमा स्त्रीरोग विज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवा निःशुल्क रुपमा उपलब्ध हुनेछन्। प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ।
बैंकले सबै प्रदेशमा पुसमा शिविर सञ्चालन गर्नेछ। बैंकले बागमती प्रदेशमा हेटौंडा उपमहानगर–११ मकवानपुरस्थित सरस्वती टोल हलमा पुस १८ गते, मधेसमा कलौया उपमहानगर–१, बारास्थित राजदेवी मन्दिर हल, गण्डकीमा मोदी गाउँपालिका–१ पर्वतस्थित भुक स्वास्थ्य चौकीमा पुस २० मा, कोसीमा विराटनगर महानगर–१२, मोरङस्थित आधारभूत स्वास्थ्य चौकी, बर्खी टोलमा पुस २१ गते स्वास्थ्य शिविर आयोजना गरिनेछ।
यस्तै, लुम्बिनी प्रदेशको सैनामैना नगरपालिका–११ रुपन्देहीस्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पुस २३ गते, कर्णलीको वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतस्थित दौलाटपुर स्वास्थ्य चौकीमा पुस २६ गते र सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिका–८ कैलालीस्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा पुस २८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने विश्वास बैंकको छ। बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समय स्वास्थ्य शिविर आयोजना गरी ग्रामीण भेगका महिला तथा नागरिकलाई प्रत्यक्ष लाभान्वित गर्दै आएको छ।
हाल बैंकले ३५४ शाखा, ३८४ एटिएम, २३७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।