सन् १९८७ मा संयुक्त विदेशी लगानीमा स्थापित स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल खुलेयता बैंकको व्यवस्थापन विदेशीकै हातमा थियो। स्थापनाको करिब ३७ वर्षपछि बैंक व्यवस्थापन प्रमुखको जिम्मेवारी नेपालीले पाएका छन्। बैंकमै करिब ३० वर्षदेखि कार्यरत गोरख राणाले नयाँ वर्ष २०२५ जनवरी १ तारिखदेखि (पुस १७) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्दै छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका लागि वाणिज्य बैंकको रुपमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा जोड्ने महत्वपूर्ण माध्यम पनि हो। बैंकले स्थापनाकालदेखि नै अब्बल नियमन पालक हुँदै बैंकिङ क्षेत्रमा ‘बैंकहरूको बैंक’ भाष्य स्थापित गरिसकेको छ। नेपाली सीईओको रुपमा व्यवस्थापन सम्हाल्न आइपुगेका राणाले आगामी दिनमा बैंकको दिगो विकास रणनीतिलाई थप मजबुत बनाउँदै कसरी वित्तीय व्यवसाय गर्नेछन्, अन्तर्राष्ट्रिय बजारमा नेपालको अर्थतन्त्रलाई जोड्न अवसरको खोजी गर्न कसरी थप भूमिका बढाउनेछन् आदि विषयमा केन्द्रित रहेर क्यापिटल नेपालका लागि दिलु कार्कीले गरेको कुराकानीको सम्पादित अंशः
विदेशी संयुक्त लगानीको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल स्थापनाको करिब ३७ वर्षपछि पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त हुनुभएको छ। नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय बजारसँग जोड्न नेपाली सीईओको नाताले के-कस्ता प्रयास रहन्छन्?
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सधैं नेपालको हितका लागि विश्वव्यापी सन्जाललाई उपयोग गर्दै आइरहेको छ। हाम्रो प्राथमिकता भनेको नेपालको वित्त व्यापारलाई सहजीकरण गर्ने, अन्तरदेशीय भुक्तानी र अन्तर्राष्ट्रिय पुँजीको पहुँचलाई सहज बनाउनमा रहनेछ। साथै, दिगो वित्तीय पहल, समग्र अर्थतन्त्रलाई सहयोग गर्ने कार्यक्रम र देशमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रोत्साहनलाई निरन्तरता दिनेछौं। अन्तर्राष्ट्रिय बजारमा नेपालको सम्भावनालाई प्रस्ट्याउने राजदूतको भूमिकामा महत्वपूर्ण जिम्मोवारीप्रति प्रस्ट छौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले लगानी सम्भावना भएका र लगानी आवश्यकताका क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने र अवसर प्रदान गराउन महत्वपूर्ण भूमिका खेल्नेछ।
तपाईं करिब ३० वर्षदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कार्यरत हुनुहुन्छ। विदेशी लगानीको बैंकले नेपालको बैंकिङ क्षेत्रसँगै समग्र अर्थतत्रमा पुर्याउने भिन्न योगदान के-के हुन्?
स्ट्यान्डर्ड चार्टर्डले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रका विभिन्न पक्षको सकारात्मक विकासमा ठूलो योगदान पुर्याउँदै आएको छ। नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंकका रुपमा हामीले ग्राहकलाई अन्तर्राष्ट्रिय व्यापार, भुक्तानी, प्रमुख जी१० मुद्राको क्लियरिङ, एफडीआई सुविधा, एफडीआई भित्र्याउन सहजीकरण र प्रोत्साहन गर्दै विश्वव्यापी बैंकिङ मापदण्ड पूरा गरेर वित्तीय सुविधा दिलाउन मद्दत गर्दै आएका छौं।
बलियो जोखिम व्यवस्थापन, डिजिटल नवप्रर्वतन र ग्राहक केन्द्रित सेवामा बढी ध्यान दिँदा दिगो नाफा आर्जन गर्न सक्षम भएको हो। बैंकले स्थिर नाफा आर्जन गरेको कारणले नै प्रतिफलमा सबै बैंकभन्दा उत्कृष्ट भएको हो।
हामीले यसबाहेक सरकारसँगको निरन्तर साझेदारी गरेर मुलुकका लागि विदेशी साझेदारीमार्फत ठूला आर्थिक परियोजना भित्र्याउन योगदान गर्ने प्रयास गरेका छौं। नेपालको पहिलो सार्वभौमिक क्रेडिट रेटिङ प्रक्रियामा सरकारको एक मात्र सल्लाहकारका रुपमा काम गरी देशको वास्तविक धरातल पत्ता लगाउन भूमिका खेल्यौं।
स्ट्यान्डर्ड चार्टर्ड आकार (पुँजी, रिजर्भ, कर्जा निक्षेप, शाखा सन्जाल)मा नेपाली व्यवस्थापनका बैंकको भन्दा सानो भएर पनि नाफा र प्रतिफलमा कसरी अब्बल भइरहेको छ?
हामीले आकारभन्दा गुणस्तर, दक्षता र दिगोपनलाई प्राथमिकता दिएका छौं। यसले बलियो जोखिम व्यवस्थापन, डिजिटल नवप्रर्वतन र ग्राहक केन्द्रित सेवामा बढी ध्यान दिँदा दिगो नाफा आर्जन गर्न सक्षम भएको हो। बैंकले स्थिर नाफा आर्जन गरेको कारणले नै प्रतिफलमा सबै बैंकभन्दा उत्कृष्ट भएको हो। थोरै तथा साना तर प्रभावकारी ग्राहक आधारमा वित्तीय सेवा प्रदान गर्दै आफ्ना अन्तर्राष्ट्रिय सन्जाल उपयोग गरी र दिगो वित्तीय समाधानमा प्रतिबद्ध रहँदा बैंकले अन्य वाणिज्य बैंकहरूको तुलनामा सानो आकार र परिमाणमा भए पनि निरन्तर उत्कृष्ट कार्य गरेको छ।
तपाईंहरूले सार्वभौम क्रेडिट रेटिङमा सल्लाहकारको भूमिका वहन गर्नुभयो। नेपाललाई यस्तो रेटिङमार्फत लगानी वातावरण मूल्यांकन गराएर विदेशी लगानी भित्र्याउन के-कस्ता चुनौती छन्?
नेपालको पहिलो सार्वभौमिक क्रेडिट रेटिङ गराएर विदेशी लगानी भित्र्याउने आधार तय गराउन स्ट्यान्डर्ड चार्टर्ड बैंकले अतुलनीय योगदान गर्ने अवसर पाएको थियो। उक्त रेटिङले नेपालमा विदेशी लगानी भित्र्याउन महत्वपूर्ण सम्भावनालाई उजागर गरेको छ। यसले देशको आर्थिक अवसर, रणनीतिक भौगोलिक स्थान र उपयोग नगरिएका स्रोतलाई प्रकाशमा ल्याएर थप प्रस्ट्याएको छ।
चालू अवस्थामा रहेका पूर्वाधार विकास, नीतिगत सुधार र वित्तीय पारदर्शितामा ध्यान दिँदै नेपालले लगानीमैत्री वातावरण सिर्जना गर्न अझ राम्रो स्थितिमा आफूलाई राख्न सक्छ। यो रेटिङले विश्वव्यापी लगानीकर्ताको विश्वास बढाउन सहयोग पुर्याउने र नेपाललाई उदाउँदो बजारका रूपमा प्रस्तुत गर्ने पहिलो कदम हो।
नेपालको बैंकिङ क्षेत्रको सुदृढ शासन, जोखिम व्यवस्थापन र डिजिटल बैंकिङमा सुधार गर्ने सम्भावना सधैं रहन्छ। अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचका लागि विश्वव्यापी उत्कृष्ट अभ्याससँग तालमेल गर्न आवश्यक छ।
रेटिङको समयावधि ६ महिना मात्रै हो। अर्को पटकका लागि नेपालले के-कस्ता कुरामा सुधार गर्नुपर्ला?
सार्वभौमिक क्रेडिट रेटिङको सार्वजनिक रूपमा उपलब्ध प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालको बढ्दो पूर्वाधार विकासमा ध्यान दिनु, जलविद्युत् सम्भावनालाई उपयोग गरेर आर्थिक वृद्धि प्रवर्द्धन गने, र राजस्व सुधारमा ध्यान दिनुपर्ने विषय सुझाइएको छ। यसले नेपाल अझ लगानीमैत्री वातावरण सिर्जना गर्दै थप राम्रो स्थितिमा पुग्छ सक्छ। यो रेटिङले लगानीकर्ताको विश्वास बढाउन सहयोग पुर्याउने र नेपाललाई थप सम्भावना भएको उदाउँदो बजारका रूपमा प्रस्तुत गर्नेछ।
अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा नेपाली बैंकहरूको छवि कस्तो पाउनुहुन्छ? के नेपाली बैंकिङ अभ्यास र नियमन हामीले दाबी गरेजस्तै दक्षिण एसियाकै राम्रो छ?
नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपाली बैंकहरूले विगत वर्षमा महत्वपूर्ण प्रगति गरेका छन्। हामी ‘बैंकहरूको पनि बैंक हौं’। यसले गर्दा नेपाली बैंकिङ प्रणालीप्रति हाम्रो विश्वासलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिविम्बित गर्छ। यद्यपि, नेपालको बैंकिङ क्षेत्रको सुदृढ शासन, जोखिम व्यवस्थापन र डिजिटल बैंकिङमा सुधार गर्ने सम्भावना सधैं रहन्छ। अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचका लागि विश्वव्यापी उत्कृष्ट अभ्याससँग तालमेल गर्न आवश्यक छ।
आर्थिक सुस्तता र अधिक तरलता समस्यालाई कसरी नियाल्नुभएको छ? बैंकिङ उद्योगको एक सदस्य भएर स्ट्यान्डर्ड चार्टर्डले कसरी सामना गरिरहेको छ?
आर्थिक र तरलता चक्र कुनै पनि देशको अर्थतन्त्रको अभिन्न अंग हो। नेपाल पनि यसको अपवाद हुन सक्दैन। नेपालको बैंकिङ क्षेत्रको वर्तमान समस्या स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि सामना गरिरहेको छ। यस्ता समस्याका बीचमा पनि बैंकले निरन्तर दिगो वित्तीय उपलब्धि हासिल गर्न र बाह्य झट्काको प्रभावलाई कम गर्न विभिन्न रणनीतिक योजना बनाएर काम गरिरहेको हुन्छ।
हाम्रो प्रमुख प्रतिबद्धता भनेको देशको आर्थिक वृद्धिलाई प्रोत्साहन गर्नु र समग्र नेपालको वित्तीय पूर्वाधारलाई मजबुत बनाउनु हो ।
हामी सधैं जोखिम व्यवस्थापनमा बढी केन्द्रित हुन्छौं। बैंकले दिगो कर्जा प्रवाह अभ्यासमा ध्यान केन्द्रित गरेर बजारको अन्य अवस्थामा तथ्यांकलाई मूल्यांकन गरेर वित्तीय व्यवसाय गर्छ। यद्यपि हामी बाह्य आर्थिक झट्काबाट अछुतो भने छैनौं। बैंकको अन्तर्राष्ट्रिय अनुभव, विविध दृष्टिकोण (सिद्धान्त) र कठोर जोखिम व्यवस्थापन मापदण्डमा ध्यान दिनाले हामीलाई यस्ता समस्या तथा चुनौती पार गर्न सक्षम बनाएको छ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकले विदेशी बैंकबाट ऋण ल्याएर नेपालमा लगानी गर्ने सुविधा दिएको छ। विदेशी लगानीसँगै प्रविधि पनि भित्रिने सबैको अपेक्षा हो। तर, बैंकहरूले अपेक्षित रुपमा यो सुविधा उपयोग गर्न सकेका छैनन्। नेपालको बैंकिङमा सबैभन्दा धेरै अन्तर्राष्टिय अभ्यास अवलम्बन गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंक हो। यसले आफ्नो अगुवाइमा विदेशी बैंकबाट लगानी भित्र्याउने पहल गर्न सम्भव छ कि छैन?
विदेशी लगानी र प्रविधि दुवै नेपालको बैंकिङ क्षेत्रमा ठूलो सम्भावना बोकेका छन्। यी अवसरको पूर्ण सदुपयोग गर्न विभिन्न बाटा हुन सक्छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना अन्तर्राष्ट्रिय सन्जाल र विशेषज्ञतामार्फत नेपालमा विदेशी लगानी एवं प्रविधिगत सुधार ल्याउन नेतृत्वदायी भूमिका खेल्न सक्छ। हाम्रो प्रमुख प्रतिबद्धता भनेको देशको आर्थिक वृद्धिलाई प्रोत्साहन गर्नु र समग्र नेपालको वित्तीय पूर्वाधारलाई मजबुत बनाउनु हो ।
विदेशी लगानीको होस् या सरकारी तथा निजी लगानीका बैंक तथा वित्तीय संस्था। नेपालको परिवेशमा वित्तीय व्यवसाय गर्दा नाफा र लगानीको प्रतिफल केन्द्रित व्यवसाय पहिलो प्राथमिकता हुनुपर्छ कि समावेशी वित्तीय पहुँचको व्यवसाय?
नेपालको सन्दर्भमा लाभदायिकता र समावेशी वित्तीय पहुँचबीच सन्तुलन अत्यन्त जरुरी छ। वित्तीय संस्थाहरूको दिगोपनका लागि लाभदायिकता आवश्यक छ भने समाजका विभिन्न वर्गमा वित्तीय पहुँच विस्तार गर्नु पनि उत्तिकै आवश्यक छ। किनकि, यसले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ। अर्थतन्त्रमा सहभागिता बढेसँगै समग्र आर्थिक उत्पादन पनि वृद्धि हुन्छ। बैंकहरूको अब्बल कार्यसम्पादनले उच्च लगानी प्रतिफल हासिल हुन सक्छ।
सरकारको प्राथमिकतामा परेको क्षेत्रमा कर्जा प्रवाह, ब्याज अनुदानका सहुलियत कर्जा प्रवाहलाई नियामकले अनिवार्य गर्दा ती क्षेत्रमा बैंकहरूले आफ्नो क्षमता र दक्षताअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन्। यसले दीर्घकालीन समस्या निम्त्याउने सम्भावना कति देख्नुहुन्छ?
नियामकीय प्रावधानअनुसार लक्षित क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने बाध्यताले बैंकहरूलाई कर्जाको पोर्टफोलियो प्रभावकारी रूपमा व्यवस्थापन गर्न चुनौती उत्पन्न हुन सक्छ। बैंकहरूले यस्तो क्षेत्रमा कर्जा लगानी गर्दै आफ्नो कर्जा पोर्टफोलियो म्यानेजमेन्टमा विशेष ध्यान दिनुपर्छ। सावधानीपूर्वक कर्जा व्यवस्थापन गर्न नसक्ने बैंकहरूमा यस्ता लक्षित कर्जाकै कारण अत्यधिक प्रतिस्पर्धा, अक्षम व्यवस्थापन र दीर्घकालीन दिगोपनामा समस्या सिर्जना हुन सक्छ।
नेपाललाई आकर्षक र सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने कार्यक्रम आयोजना गर्न हामी निरन्तर प्रतिबद्ध छौं।
तथापि, बैंकहरूले यस्ता कर्जा प्रवाह गर्दा विवेकपूर्ण तबरले जोखिम व्यवस्थापन गर्दै विभिन्न पक्षको मूल्यांकन गरी कर्जा प्रवाह गरे यी चुनौतीलाई सफलतापूर्वक सामना गर्दै नियामकीय लक्ष्य पूरा गर्न सक्छन्। त्यति मात्रै होइन, सरकारको व्यापक आर्थिक लक्ष्यलाई पूर्ति गर्ने गरी वित्तीय सेवा प्रवाह गर्न सक्छन्। यस्ता लक्षित क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंकहरू स्वयंले जोखिम अध्ययन गरेर कर्जा प्रवाह गर्ने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
यसअघिका वर्षमा स्ट्यान्डर्ड चार्टर्डले नेपालका लागि वित्तीय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको छ। यस्ता सम्मेलनबाट नेपालको बैंकिङ क्षेत्रमा कस्तो फाइदा पुग्छ? भविष्यमा यो सम्मेलन कहिले हुन्छ?
स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल आर्थिक पत्रकार समाज (सेजन) र लगानी बोर्ड नेपालसँग समन्वय गरेर नेपालका लागि वित्तीय लगानी सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन गरिरहेको छ। यसले अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रसम्बन्धी ज्ञान आदानप्रदान, सन्जाल विस्तार, नेपालको आर्थिक सम्भावनालाई अन्तर्राष्ट्रिय लगानीकर्ता र सरोकारवालालाई प्रस्तुत गर्ने एउटा प्लेटफर्म (मञ्च) उपलब्ध गराएको छ।
सम्मेलनमा नेपालले प्राकृतिक स्रोत उपयोग गरी दिगो वित्तीय आकांक्षा पूरा गर्न सक्ने नीतिगत सुझाव र रणनीति पनि छलफल गरिएका छन्। यस्ता सम्मेलनले विश्वस्तरीय उत्कृष्ट अभ्यास एवं स्थानीय सञ्चालकबीचको दूरीलाई घटाउँदै नवप्रवर्तन र विकासलाई प्रोत्साहन गरिरहेको छ। बैंकले यस्ता सम्मेलन आगामी दिनमा सम्बन्धित पक्षसँग समन्यव गरेर आयोजना गर्नेछ। नेपाललाई आकर्षक र सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने कार्यक्रम आयोजना गर्न हामी निरन्तर प्रतिबद्ध छौं।
यसअघिका स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ (बैंकिङ सीईओ अफ द इयर नेपाल २०२४) बाट सम्मानित भएका थिए। यो सम्मान तपाईं आफूले पनि पाउने गरी काम गर्नुपर्ने चुनौती कतिको महसुस गर्नुभएको छ?
मेरा पूर्ववर्तीलाई प्राप्त अवार्डले वित्तीय क्षेत्रमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको उत्कृष्टता र नेतृत्वप्रतिको प्रतिबद्धताको प्रतीक हो। मेरो ध्यान उक्त सफलतालाई कायम गर्ने गरी बैंकको दिगो विकासलाई अघि बढाउने, बैंकको मूल्य-मान्यतालाई कायम गर्ने र नेपालको बैंकिङ क्षेत्रको विकासका लागि बैंकका तर्फबाट विशेष योगदान पुर्याउनेमा केन्द्रित हुनेछ।
नेपालका अन्य बैंक तथा वित्तीय संस्था सुगम/दुर्गम सबै क्षेत्रमा पुगेर वित्तीय सेवा प्रवाह गर्दा स्ट्यान्डर्ड चार्टर्ड भने निश्चित क्षेत्र र वर्गमा मात्रै सीमित हुनुको बाध्यता के हो?
हामी सधैं शाखा सन्जाल विस्तार र सञ्चालनमा गुणस्तर, दक्षता र आफ्नो विशेषज्ञता कायम गर्नमा केन्द्रित हुन्छौं र त्यसैलाई प्राथमिकतामा राखेर वित्तीय सेवा प्रवाह गर्छौं। बैंकको रणनीति दृष्टिकोण भनेको सबैभन्दा बढी योगदान पुर्याउन सक्ने क्षेत्रलाई नै बढी प्राथमिकतामा राखेका हुन्छौं। बैंकले आफ्नो विशेषज्ञता नभएको क्षेत्रलाई प्राथमिकतामा राख्दैन।
वित्तीय लगानीमार्फत् हामीले सबैभन्दा बढी योगदान पुर्याउने सक्ने भनेको कर्पोरेट बैंकिङ, ट्रेड फाइनान्स र खुद्रा बैंकिङ हुन्। यद्यपि अन्य क्षेत्रलाई पनि साझेदारी बनाएर नेपालमा समावेशी वित्तीय पहुँच विस्तार गर्ने प्रयासमा छौं। यसका लागि हामीले निरन्तर अवसरको खोजी पनि गरिरहेका छौं। हामीले समावेशीकरणको लक्ष्य हासिल गर्न संस्थागत सामाजिक उत्तरदायित्व र नवप्रवर्तनात्मक समाधानमार्फत नेपालको वित्तीय समावेशीकरणका लक्ष्यमा अर्थपूर्ण योगदान गर्न अवसर खोजी निरन्तर गर्दै आइरहेका छौं।