काठमाडौं। सन् २०२४ ले आजदेखि विधिवत बिदा लिँदै छ। सन् २०२४ नेपालको पर्यटन क्षेत्रका लागि उत्साहपूर्ण देखियो। कोभिड-१९ महामारीपछि थलिएको नेपालको पर्यटन क्षेत्रले लय समात्यो।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२४ डिसेम्बर ३१ सम्म ११ लाख ४७ हजार २४ विदेशी पर्यटक नेपाल घुमफिरमा आएका छन्। यो संख्या हवाई मार्गमार्फत आउने मात्र हो। सडक मार्ग हुँदै विशेषगरी भारत र त्यहाँबाट आउने पर्यटक संख्या गणना गरिएको छैन।
बोर्डको तथ्यांकलाई आधार मानेर हेर्दा पर्यटक आगमन दर सन् २०१९ को लयमा पुगेको छ। अर्थात्, २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए, जतिबेला यो संख्या सर्वाधिक थियो।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सन् २०२४ नेपालको पर्यटनका लागि सुखद रहेको बताउँदै आगामी दिनमा यो संख्या बढ्ने जाने विश्वास व्यक्त गरे। ‘कोभिडपछि विश्व पर्यटनमा ९७ प्रतिशत र नेपालमा ९६ प्रतिशतसम्म रिकभरी देखिएको छ’, जोशीले भने।
थपिए ३ वटा पाँचतारे
सन् २०२४ मा नेपालको पर्यटन क्षेत्रमा ३ वटा पाँचतारे होटल थपिएका छन्। काठमाडौंको नक्सालमा हिल्टन अनि बूढानीलकण्ठमा लेमन ट्री प्रिमियम र होलिडे इन लक्जरी रिसोर्ट सञ्चालनमा आएका छन्।
काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवाल एउटा चेन होटल आउँदा ३० देखि ३५ प्रतिशत पर्यटक थपिने बताउँछन्। विश्वभर फैलिने हुँदा ग्राहक त्यहाँ सञ्चालित होटलमै बस्ने भएकोले जति धेरै ब्रान्ड उति धेरै पर्यटक आउँछन्’, सञ्चालक अग्रवालले भने।
एउटा पाँचतारे होटल सञ्चालनमा आउदा न्यूनतम १०० देखि १५० जनासम्मले प्रत्यक्ष रुपमा रोजगारी सिर्जना हुन्छ। यसरी हेर्दा जति होटल थपिदै गयो उतिनै नयाँ रोजगारीसमेत सिर्जना भैरहेको हुन्छ। होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल खुल्दा रोजगारी सिर्जना मात्र नभई त्यसको प्रत्यक्ष लाभ कृषकसम्म पुग्ने बताए।
‘प्रत्यक्ष रुपमा हेर्दा होटल खुलेको र केहिले जागिर खाएको देखिएपनि त्यसको फाइदा लिने किसान समेत हुन्छ,‘ अध्यक्ष शाहले भने, ’रोजगारीसँगै मुलुकका लागि राजश्व समेत बढिरहेको हुन्छ।‘
निरास औद्योगिक क्षेत्र
संख्यात्मक रुपमा होटल निर्माण तथा सञ्चाचालन संख्या बढिरहेका बेला औद्योगिक क्षेत्रमा भने नयाँ उद्योग खासै सञ्चालन हुन सकेनन्। बर्दियामा साढे ४ अर्ब लगानीमा सेरामिक्स उद्योगबाहेक अरू खुल्न सकेनन्। खासगरी उत्पादित वस्तुले बजार पाउन नसकेपछि सञ्चालन भइरहेका उद्योगले समेत क्षमता खुम्च्याए। सिमेन्ट, रडलगायतका उद्योग क्षमताअनुसार चल्न सकेका छैनन् भने खाद्यान्न उद्योगसमेत संकटमा पर्दै गएका छन्।
विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै पटक–पटक ठूला उद्योगमा लाइन काटेकाले पनि उद्योगीमा निराशा छाएको छ। डेडिकेटेड/ट्रंकलाइन विवाद नसल्टिँदा उद्योग, व्यवसाय क्षेत्रले औद्योगिक वातावरण नभएको गुनासो गरिरहेको छ। सरकारले गर्नुपर्ने दायित्व पूरा गर्न नसक्दा नयाँ उद्योग सञ्चालनमा आउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य बताउँछन्।
सरकारका तर्फबाट पूरा गर्नुपर्ने दायित्वबाट पन्छिने र उद्योगबाट मात्र असुल्न खोज्ने सरकारी प्रवृत्तिका कारण उद्योगमा नयाँ लगानी आउन नसकेको उनको बुझाइ छ।
महासंघका केन्द्रीय सदस्य प्रबलजंग पाण्डेले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको प्रवेशले लगानीका लागि नयाँ ढोका खोलेको बताउँछन्। औद्योगिक क्षेत्रमा निराशा छाइरहेका बेला प्रसारण लाइनमा निजी क्षेत्र प्रवेशले उत्साह छाएको र विद्युत् व्यापारमा समेत निजी क्षेत्रलाई अनुमति दिइए थप राम्रो हुने उनको भनाइ छ।
अटो क्षेत्रमा उत्साह
सन् २०२४ मा औद्योगिक क्षेत्रमा निराशाको बीच अटो क्षेत्रमा भने केही उत्साह थपिएको छ। खासगरी विद्युतीय सवारीसाधन आयात र बिक्री राम्रो भइरहेको छ। विस्तारै इन्धनका गाडी माग पनि बढिरहेको छ।
अझ लक्ष्मी ग्रुपले यो वर्ष मात्रै हुन्डाई गाडी एसेम्बल प्लान्ट जडान गरी औद्योगिक यात्रा सुरु गरेर अटो क्षेत्रमा नयाँ सञ्चार गराएको छ। यसबाट विस्तारै अन्य गाडीका कम्पनीले पनि नेपालमा एसेम्बल गर्ने र नेपालबाटै बिक्री गर्ने वातारण सिर्जना हुन सक्ने बाटो खुलेको छ।