काठमाडौं। अन्तिममा सम्हालिने प्रयासका बाबजुद सेयर बजारमा ३३.०८ अंकको गिरावट आएको छ। मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा रोकिएको हो।
कारोबारको सुरुवाती समयसँगै घट्न थालेको बजार साढे २ बजे २५४५ बिन्दुसम्म खुम्चिएको थियो। त्यसपछि बजार सम्हालिने प्रयास गर्दै उकालो लागेर कारोबार बन्द हुँदा २५७६ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन आइतबार नेप्से २१.१२ अंकले घटेर २६०९।५८ बिन्दुमा रोकिएको थियो। त्यसअघिका तीन कारोबार दिनमा नेप्से लगातार उकालो लागेको थियो।
मंगलबार नेप्सेमा कुल ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार पनि ५ अर्ब ४२ करोड रुपैयाँ बराबरकै कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
मंगलबार सपोर्ट लघुवित्त, जानकी फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस्तै, नारायणी विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले, गुहेश्वरी मर्चेन्ट बैंकको ९.३४ प्रतिशतले र बोटलर्स नेपाल (तराई)को ९.२५ प्रतिशतले घटेको छ।
आज फाइनान्स समूहको सेयर मूल्य ५.१९ प्रतिशतले र विकास बैंक समूह २.७७ प्रतिशतले घटेको छ।