काठमाडौं। सामना बैंकिङ पुरस्कार गुठीले २०८१ को सामना बैंकिङ पुरस्कारबाट बैंकिङविज्ञ बीएन घर्तीलाई सम्मानित गरेको छ। उक्त पुस्तक बैंकिङ एन्ड इन्स्योरेन्स प्रालिले प्रकाशन गरेको थियो। पुरस्कारको राशी ७५ हजार रुपैयाँको छ।
घर्ती लिखित पुस्तक ‘बैंकिङ अनुशासन दिगो विकासका लागि’ पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घर्तीलाई सम्मानसहित पुरस्कार वितरण गरेका थिए।
प्रा. डा. विश्वम्भर पोखरेल, प्रा.डा. गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्यांकन समितिले उक्त पुरस्कार घर्तीलाई दिन सिफारिस गरेको थियो।
नेपाल बंगलादेश बैंक, एनआईसी बैंक र किस्ट बैंकमा समेत काम गरेका घर्ती किस्टको कामु सीईओसमेत भएका थिए। किस्ट प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यविधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने काम गर्दै आएका छन्।
सर्वसाधारणले पनि बुझ्न सकिने सरल भाषा प्रयोग गरिएको, राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने विषय विश्लेषणात्मक रुपमा प्रस्तुत गरिएको, बैंक तथा वित्तीय संस्थाले बिराएका बाटा केलाउँदै आगामी दिनमा तय गर्नुपर्ने विषयलाई व्यावहारिक सुझाव दिइएको, बैंकले अत्यधिक कमाएका छन् भन्ने भ्रमलाई तथ्यांक उल्लेख गर्दै चिर्न खोजिएको, सञ्चालन जोखिमलाई विशेष प्राथमिकतासाथ उठान गरिएको, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुपालनाका लागि गर्नुपर्ने कार्यलाई विशेष रुपमा उठान गरिएकोलगायत कारणले घर्तीलाई उक्त पुरस्कार दिन सिफारिस गरिएको मूल्यांकन समिति सदस्य कृष्ण प्रधानले बताए।
कार्यक्रममा राष्ट्र बैंकका पूर्वगभर्नरद्वय गणेशबहादुर थापा र डा. तिलक रावल, काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राडा अच्युत वाग्लेलगायत सहभागी भएको गुठीका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए।