काठमाडौं। सन् २०२४ मा विश्व सेयर बजार निकै उतारचढावपूर्ण रह्यो। यस वर्ष विश्वमा देखिएका आर्थिक अनिश्चितता, व्यापारिक तनाव र विभिन्न राजनीतिक घटनाक्रमले बजारमा सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव पर्यो। सन् २०२४ मा विश्व सेयर बजार मुख्य रूपमा केन्द्रीय बैंकको निर्णयद्वारा बढी प्रभावित भए। अमेरिकी फेडेरल रिजर्भले वर्षको मध्यतिर ब्याज दर घटायो, जसको उद्देश्य सुस्त आर्थिक वृद्धिलाई समर्थन गर्नु थियो।
यो कदमले विश्वव्यापी इक्विटी बजारलाई राहत प्रदान गरे पनि भू-राजनीतिक तनाव, तेलको मूल्यमा उतार-चढाव र युरोप तथा चीनको आर्थिक स्थिरताका बारेमा बढ्दो चिन्ताले केही प्रभावित हुन पुग्यो।
सन् २०२४ मा अमेरिकी सेयर बजारमा मिश्रित किसिमको प्रवृत्ति देखियो। खासगरी, सूचना प्रविधि र उर्जा क्षेत्रमा देखिएका केही सकारात्मक कदमको प्रभाव सेयर बजारमा पनि देखियो। अमेरिकी केन्द्रीय बैंक अर्थात् फेडरल रिजर्भले २०२४ मा ब्याज दरको निर्णय र मुद्रास्फीतिको नियन्त्रणका लागि कडा नीतिहरू लागू गरे।
-1735633591.png)
यसले सेयर बजारमा अस्थिरता सिर्जना गर्यो। ब्याज दरको वृद्धिले कर्जा महँगो बनायो जसले बजारमा नकारात्मक असर पार्यो। प्रविधिको क्षेत्रको बढ्दो आकर्षणले एप्पल, माइक्रोसफ्ट, अल्फाबीट जस्ता कम्पनीले राम्रो प्रदर्शन गरे। यी कम्पनीहरूको सेयर मूल्यमा वृद्धि हुँदा एनएएसडीएक्यु (अमेरिकी सेयर बजारको एक प्रमुख सूचक)मा सुधार देखियो। विश्व सेयर बजारमा तेल र ग्यासको मूल्यले पनि प्रभाव पार्यो।
२०२४ मा तेलको मूल्यमा उतार-चढाव भएका कारण ऊर्जा क्षेत्रका सेयरहरूको प्रदर्शनमा असर परेको थियो भने तेलको मूल्य वृद्धि भएका बेला ऊर्जा कम्पनीहरूका सेयरमा सुधार देखिएको थियो। समग्रमा अमेरिकी बजारमा विशेषगरी टेक्नोलोजी र ऊर्जा क्षेत्रमा वृद्धि देखिए पनि ब्याजदरको वृद्धि र मुद्रास्फीतिका कारण सम्पूर्ण बजारमा केही अस्थिरता पनि देखियो।
छिमेकी मुलुक भारतको स्टक मार्केट लागि पनि सन् २०२४ निकै घटनापूर्ण वर्ष रह्यो।
लगानीकर्ताहरूले वर्षको पहिलो आधामा दलाल स्ट्रीटले नयाँ-नयाँ कीर्तिमानहरू तोडेको देखे, तर दोस्रो आधामा बजारले धेरै चुनौतीहरू र कठिन परिस्थितिहरूको सामना गर्नुपर्यो। सन् २०२४ को सुरुमा २१ हजार ७०० बिन्दुबाट यात्रा सुरु गरको निफ्टी-५० (भारतको नेशनल स्टक एक्सचेञ्जमा सूचीकृत उत्कृष्ट ५० कम्पनीलाई प्रतिनिधित्व गर्ने सूचकांक) सेप्टेम्बरमा २१ प्रतिशतले बढ्दै २६ हजार २७७ को सर्वकालिक उच्च स्तरमा पुग्यो।
यद्यपि, वर्षको अन्तिम केही महिनामा सूचकांकमा तीव्र गिरावट आउँदा वृद्धिमध्ये आधा भन्दा बढिको गिरावट आयो। यसले वार्षिक प्रतिफल करिब नौ प्रतिशतले खुम्च्यायो। ५ अगस्ट २०२४ मा जापानको केन्द्रीय बैंकले ब्याजदरमा परिवर्तन गर्दै महत्वपूर्ण कदम चाल्यो। बैंकले ब्याजदरलाई ०.२५ प्रतिशत (२५ आधार अंक)ले बढायो। यो जापानी येनको कमजोरीप्रति बढ्दो चिन्तालाई सम्बोधन गर्न गरिएको कदम भए पनि विश्व सेयर बजारमा नै प्रभाव पार्यो।
यसै वर्ष मध्यपूर्व संकटले अर्को स्तरको उचाई लिन पुग्यो। इरानले अक्टोबर १ मा इजरायलतर्फ १८४ बलिस्टिक मिसाइल प्रहार गरेसँगै पश्चिमी देशहरूको कडा आलोचना र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबाट कडा प्रतिकारको चेतावनी निम्त्यायो। अक्टोबर २६ मा इजरायलले इरानमाथि रातभरको हवाई आक्रमणको श्रृंखला सञ्चालन गर्यो। यस तनावको तीव्रताले सम्भावित पूर्णस्तरीय क्षेत्रीय संकटको डर सिर्जना गर्यो। विश्व सेयर लगानीकर्ताको मनोबल कमजोर बनायो।
नोभेम्बर २०२४ मा अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले भारी मतान्तरले ऐतिहासिक जित दर्ता गरे। यो परिणामले क्रिप्टोकरेन्सी बजारलाई उत्साहित बनायो, जसमा बिटक्वाइन ट्रम्पको ऐतिहासिक जितपछि केही दिनमै सर्वकालिक उच्च मूल्यमा उक्लियो। बिटक्वाइनले डिसेम्बर १६ मा नयाँ रेकर्ड बनायो। क्रिप्टो उद्योगबाहेक, अमेरिकी राष्ट्रपति चुनावले पनि विश्व सेयर बजारलाई प्रभावित पार्ने काम गर्यो।
-1735633592.png)
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लूमबर्गले उल्लेख गरेको तथ्यांकअनुसार सन् २०२४ मा एमएससीआई (ग्लोबल इन्डेक्स) १७.१ प्रतिशतले बढेको छ। एमएससीआई विकसित बजार सूचकांक १८.९ प्रतिशत र एमएससीआई इमर्जिङ मार्केटहरू बढ्दै सूचकांक ६.८ प्रतिशतलेले बढ्यो। जापान निक्केई-२२५ (जापानको प्रमुख स्टक इन्डेक्स) इन्डेक्स वर्षको अन्तिम दिन एक प्रतिशतले घटेर ३९ हजार ८९४.५४ मा बन्द भएको छ।
सन् २०२४ जनवरी १ मा २०६० बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) डिसेम्बर २९ मा २६०९.५८ बिन्दुमा छ। नेपाली सेयर बजारमा अगस्ट १५ मा सूचक यस वर्षकै उच्च अर्थात् ३०००.८१ बिन्दुमा पुगेको थियो। एमएससीआई जापान बाहेकको एसिया-प्रशान्त सेयरहरूको सूचक भने ०.२ प्रतिशतले घट्यो।
चीनको ब्लू–चिप सीएसआई-३०० सूचकांक स्थिर रहे पनि हङकङको ह्याङ सेङ सूचकांक प्रारम्भिक कारोबारमा ०.३ प्रतिशतले बढेको छ।
समाचार संस्था वाल स्ट्रिटमा तीन प्रमुख अमेरिकी सूचकांकहरूले सोमबार व्यापक बिक्रीका कारण तीव्र गिरावटका साथ आफ्नो कारोबार बन्द गरेको उल्लेख छ। यो मुख्य रूपमा वर्षको अन्त्यमा कर व्यवस्थापन, मूल्यांकनको चिन्ता र २०२५ को अनिश्चितताका कारण भएको हो। जनाइएको छ। वर्षको अन्त्यतिर अमेरिकी सेयरहरूमा तीव्र उछाल आएको छ। नास्ड्याकले करिब ३० प्रतिशतको वार्षिक वृद्धि गर्ने देखिएको छ भने एसएन्डपी-५०० एसपीएक्सले २४ प्रतिशत बढीको वृद्धिको बाटो रोजेको छ।
वर्षको अन्त्यको निराशाजनक माहोल युरोपमा पनि जारी रहेको छ। यूरोस्टोक्स ५० फ्युचर्स ०.६७ प्रतिशतले घट्दा जर्मनी डीएएक्स फ्युचर्स ०.६२ प्रतिशतले घटेको छ। अगामी वर्षमा लगानीकर्ताको ध्यान अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को ब्याजदर नीतिमा केन्द्रित हुने आँकलन भइरहेको छ। यस महिना सुरुमा फेडले उच्च मुद्रास्फीतिका कारण सेप्टेम्बरमा अनुमानित चार कटौतीबाट घटेर दुई ब्याजदर कटौती मात्र हुने प्रक्षेपण गरेको थियो। एसियामा, ताइवानको प्रविधि-प्रधान सूचकांक यस वर्ष २८ प्रतिशतले उकालो लाग्यो जुन सन् २००९ यताकै सबैभन्दा बलियो वार्षिक प्रदर्शन हो।
जापानको निक्केई यस वर्ष १९ प्रतिशतले बढ्यो। तर, हङकङको ह्याङ सेङमा भने १८ प्रतिशतले मात्रै उकालो लाग्यो। पाकिस्तानको बेंचमार्क सेयर सूचकांक ८५ प्रतिशतले बढ्यो, जसलाई सेप्टेम्बरमा आईएमएफद्वारा स्वीकृत ४७ अर्बको बेलआउटपछि कमजोर सुधारतर्फको लगानीकर्ता विश्वासले सहयोग पुर्याएको देखिन्छ।
तर, दक्षिण कोरियाको केओएसपीआईले यस वर्ष एसियाको सबैभन्दा कमजोर प्रदर्शन गर्दै १० प्रतिशतले घट्यो। यसको प्रमुख कारक राजनीतिक अस्थिरता मानिएको छ। तर, यस वर्ष सुनले ऐतिहासिक प्रदर्शन गर्यो। २६ प्रतिशत भन्दा बढी वृद्धि हुँदै एक दशकभन्दा बढी समयको बलियो वार्षिक प्रदर्शन यसै वर्ष भयो। यो प्रदर्शन विश्वभरको भू-राजनीतिक तनाव र मौद्रिक नीति खुकुलो पार्ने प्रवृत्तिबीच सुरक्षित लगानीको मागले प्रेरितसमेत गर्यो।
एजेन्सीको सहयोगमा