काठमाडौं। कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ। पुस १३ गते सम्पन्न महासंघको १५औं महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएकी हुन्। क्यान महासंघले पहिलो महिला अध्यक्ष पाएको छ। पाण्डे सफ्टवेयर डेभलपमेन्ट कम्पनी जनरल टेक्नोलोजीका प्रबन्ध निर्देशक हुन्।
यस्तै, महासंघ उपाध्यक्षमा, हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन्। महासचिवमा चन्द्र विलास भुर्तेल र कोषाध्यक्षमा विक्रम सिंह निर्वाचित भए।
सचिवमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, राम किशोर रावल र कर्णराज पनेरु चयन भएकाे क्यान महासंघले जनाएकाे छ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका विशेष पहल गर्ने बताइन्।
सन् १९९२ मा स्थापना भएको क्यान महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको छ । सन् २०१५ मा महासंघमा रूपान्तरण भएपछि संगठनले सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ।