काठमाडौं। नेपालको अटो बजारमा पछिल्लो पटक इलेक्ट्रिक भेहिकल (ईभी) को बजार विस्तारको दायरा बढ्दै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ११ हजार ७०१ युनिट ईभी घरेलु सडकमा उत्रिए। यसमा अधिकांश बजार हिस्सा चिनियाँ ईभीकै थियो।
भारतीय ब्रान्ड टाटा एक्लैले २९ प्रतिशत बजार हिस्सा ओगटेको बजारमा चिनियाँ ईभीको डेढ दर्जन कम्पनीका २ दर्जन बढी ब्रान्डले नेपालको अटो बजार तताइरहेका बेला सन् २०२५ मा भारतीय नयाँ ब्रान्डसहित अन्य मुलुकका ईभीले पनि नेपाल प्रवेश गर्ने चर्चासँगै प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।
अहिले नेपाली अटो बजारमा चिनियाँ ईभीका बिवाईडी, डिपल, नामी, ओमोडा, जेक्को, सेरेस, एक्सपेङ, नेटा, दायुन, जिकर, आयोन, स्काईवेल, वुलिङ, केई, हेनरी, बीएडब्लुको ब्रम्बीलगायतका ब्रान्ड उपलब्ध छन्।
अब भारतीय अटो उत्पादकले पनि ‘फूल फेज’ ईभीमा जोड दिन थालेका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिनेछ। टाटाले नेपालमा भारतीय ब्रान्डमा ईभीको वर्चस्व जोगाइरहेका बेला महिन्द्राले पछिल्लो पटक बीई ६ र एक्सईभी–नाइन गाडी भारतमा सार्वजनिक गरेको छ, जुन २०२५ को तेस्रो महिनामा नेपाल आइपुग्ने अनुमान गरिएको छ।
भारतीय उत्पादन एमजी फाइभ र वीन्डसर ईभी २०२५ मा नै नेपाली बजारमा आउनेछन्। यसलाई नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ल्याउनेछ। नेपालमा कोरियन ब्रान्ड हुन्डाई बिक्री गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटा ईभी २०२५ को जनवरीमै नेपाल ल्याउने तयारी गरेको छ।
जापानी ब्रान्ड होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी पनि सन् २०२५ मै नेपाल ल्याउने भएको छ। हङकङमा बिक्री हुँदै आएको होन्डा ईःएन–१ जनवरीमा नेपाल आउने नेपालका लागि होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङले जनाएको छ।
यस्तै, इन्धन गाडी मात्र उत्पादन तथा बिक्री गर्दै आएको मारुती सुजुकीले पनि आफ्नो पहिलो विद्युतीय कार २०२५ मै लन्च गर्ने जनाएको छ। विश्वबजारमा जनवरीमा लन्च हुने मारुती सुजुकीको पहिलो विद्युतीय मोडल ई–भीटारा पनि मार्चमा नेपाल आउनेछ। नेपालमा सुजुकी गाडी बिक्री गर्दै आएको सिजी मोटोकर्पले ई–भीटाराको प्रोमोसनल सुरु गरेको छ। यी सबै २०२५ मा नेपाल आउने ईभी ब्रान्डका गाडी हुन्।
सवारीसाधन उत्पादन गर्दै आएका अधिकांश ब्रान्ड ईभी उत्पादनमा आक्रामक बनेका छन्।
गत वर्षसम्म विश्व अटोबजारमा चिनियाँ ईभीको एकछत्र राज थियो। भारत र अन्य मुलुक विद्युतीय गाडी उत्पादनमा निकै पछाडि थिए। सवारीसाधन उत्पादक मारुती सुजुकी, महेन्द्रा, किया, होन्डाजस्ता स्थापित ब्रान्डले ईभी उत्पादनमा चासो देखाएका थिएनन्। चल्तीका ब्राण्डले ईभी उत्पादनमा चासो नदेखाउँदा विश्व बजारमा नै ‘न्यू इनर्जी भेहिकल’ उत्पादनमा चीनले बजार लिड गरिरहेको थियो।
विगतमा भारतबाट टाटा, सिट्रोन, एमजी जस्ता ब्रान्डका ईभी गाडी उत्पादन भइरहेका थिए। तर, यी गाडीले चिनियाँ ईभी उत्पादनलाई टक्कर दिन सकेका थिएनन्। केही समयअघि भारतमा सार्वजनिक भएका ब्रान्ड र सार्वजनिक हुने मिति तय गरेका ब्रान्डले ईभी लन्च गर्ने तयारीसँगै बजारमा थप हलचल सुरु भएको हो।
अहिले भारतमा र अन्य मुलुकमा सार्वजनिक गरिएका मूल्यअनुसार यी सबै मोडलले मूल्य, ब्याट्री तथा मोटरको आधारमा पनि चिनियाँ उत्पादनलाई कडा टक्कर दिने देखिन्छ। गाडी उत्पादक कम्पनीले ईभीलाई प्राथमिकतामा राखेसँगै राम्रो राम्रा ईभी उत्पादन गर्न थालेका छन्।
भारतमा नोभेम्बर २०२४ मा ८ हजार ६६८ युनिट ईभी गाडी बिक्री भएको छ। यसमध्ये भारतमा उत्पादन भएको एमजी ३ हजार ३६१ युनिट, टाटा ४ हजार २२४ युनिट, महिन्द्रा ५५२ युनिट र अन्य ब्रान्ड ७२९ युनिट बिक्री भएका थिए।