काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको विशेष अदालतमा मुद्दा दायर गरेको छ।
प्रमुख बस्नेतले पदको दुरुपयोग गरी आफ्नै नगरपालिकामा पर्ने पद्मा कोलनी प्रालि, पद्मा मर्चेण्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि गैरकानुनी काम गरी लाभ लिएको आयोगको ठहर छ।
बजार मूल्यअनुसार ४७ करोड ७५ लाखको जग्गा पद्मा कोलनीले जग्गा धनीलाई १८ करोड ९४ लाख १८ हजार ४४८ कायम गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी कूल २३ करोड २२ लाख २७ हजार मात्रै भुक्तानी गरेको आयोगले जनाएको छ।
यस क्रममा मेयर बस्नेतको प्रत्यक्ष सहभागी रहेको आयोगको आरोप छ। उनीसँगै निजको श्रीमती उर्मिला बस्नेतको खातामा दुई करोड १५ लाख ७३ हजार रकम जम्मा गरेको पाइएको छ।
यस्तै, ६ करोड ८२ लाख बराबरको जग्गा र वैवाहिक भोजको २४ लाख ७२ हजारभन्दा बढी रकम पद्य कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले दिएको आयोगले जनाएको छ।
आयोगले ९ करोड २२ लाख ४६ हजार ३२ बराबरको बिगो दाबी गर्दै मेयर बस्नेत, उनकी श्रीमती उर्मिला र पद्मा कोलनीका सञ्चालक कँडेलविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अभियोगमा उनीहरूविरुद्ध १३ करोड १२ लाख ७३ हजार बराबरको बिगो दाबी गरेको छ। उनीहरूविरुद्ध आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।