जर्जिया। अमेरिकाका ३९ औँ राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा २०२४ डिसेम्बर २९ मा निधन भएको छ। उनी आफ्नै निवास, प्लेन्स, जर्जियामा शान्तिपूर्वक संसारबाट बिदा भए। कार्टर अमेरिकी इतिहासकै सबैभन्दा लामो समयसम्म बाँचेका राष्ट्रपति थिए।
कार्टरको जन्म १९२४ अक्टोबर १ मा जर्जियाको प्लेन्समा भएको थियो। अमेरिकी नेभीमा सेवा गरेपछि उनले राजनीतिमा पाइला राखेका थिए। १९७१ देखि १९७५ सम्म जर्जियाका गभर्नरका रूपमा कार्य गरेपछि, १९७६ मा उनी राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए। १९७७ देखि १९८१ सम्म राष्ट्रपति रहेपछि, उनले शान्ति, मानव अधिकार र लोकतन्त्रको वकालत गर्दै संसारभर आफ्नो पहिचान बनाए।
उनको नेपालको लागि पनि विशेष सम्बन्ध थियो। जिम्मी कार्टरले आफ्नो संस्था “कार्टर सेन्टर”मार्फत नेपालमा शान्ति प्रक्रिया र निर्वाचन अनुगमनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
नेपालको २०६४ र २०७० को संविधानसभा निर्वाचनमा कार्टर सेन्टरले अनुगमन गर्दै निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सहयोग पुर्याएको थियो। उनले नेपाली जनताको लोकतन्त्रप्रतिको प्रतिबद्धता र शान्ति स्थापनाका प्रयासहरूको सधै प्रशंसा गरेका थिए।
कार्टरले आफ्नो कार्यकालमा क्याम्प डेभिड सम्झौतामा इजरेल र इजिप्टबीच ऐतिहासिक सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। तर, उनको कार्यकाल इरान बन्धक संकट र आर्थिक समस्याहरूका कारण पनि चुनौतीपूर्ण रह्यो।
राष्ट्रपतित्वपछि, जिम्मी कार्टरले मानव सेवा र शान्ति प्रवर्द्धनमा आफ्नो जीवन समर्पित गरे। उनले १९८२ मा “कार्टर सेन्टर” स्थापना गरेर स्वास्थ्य, शिक्षा र मानव अधिकारको क्षेत्रमा काम गरे। उनको यो योगदानका लागि उनलाई २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
कार्टरको निधनले विश्वभरका नेताहरूले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, “अमेरिका र विश्वले एक असाधारण नेता, राजनेता र मानवतावादी गुमाएको छ।”
जिम्मी कार्टर आफ्नो परिवारका सदस्यहरूसँग बाँचेका थिए। उनकी पत्नी रोसलिन कार्टरको निधन २०२३ मा भएको थियो।
कार्टरको सम्झनामा उनको नेतृत्व, दया र मानव अधिकारका लागि देखाएको समर्पण सधै जीवित रहनेछ। नेपालको लोकतन्त्र र शान्ति प्रक्रियामा उनको योगदानका लागि नेपाली जनताले सधैं उनलाई सम्झिरहने छन्।