काठमाडौं। भारतीय पर्यटकीयले काठमाडौंसहित तराई क्षेत्रका होटल भरिभराउ हुन थालेको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा नेपाल घुम्न आउने भारतीय पर्यटकहरूले साना तथा मझौला होटल भरिएका हुन्।
होटल एसोसिएसन अफ नेपाल(हान)का कोषाध्यक्ष एवंम क्राउन प्लाजा होटलका सञ्चालक युवराज श्रेष्ठले पछिल्लो केही सातादेखि भारतीय पर्यटकहरूको संख्या वृद्धि भएको बताए। भारतमा चिसो बढेसँगै चिसो छल्ने बाहनामा नेपालमा पर्यटकको संख्या बढिरहेको उनले बताए।
निजी एवंम सार्वजनिक गाडी लिएर भारतबाट धेरै पर्यटक आउन थालेको व्यवसायीहरूको भनाइ छ। भारतीय पर्यटकहरूको कारण काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगञ्जसहित सीमा जोडिएका क्षेत्रमा सञ्चालित होटल भरिन थालेका हुन्।
सिद्धार्थ होटल संघका अध्यक्ष एवंम नानस होटलका सञ्चालक चन्द्रप्रकाश (सिपी) श्रेष्ठका अनुसार भैरहवा क्षेत्रमा भारतीय पर्यटकको आगमन बढिरहेको बताए। ‘उसै पनि अहिलेको यो सिजन भारतीय पर्यटकहरूको आगमण हुने हो’, अध्यक्ष श्रेष्ठले भने, ‘सानादेखि ठूला होटलहरू भरिन थालेको छ।’
भारतबाट आउने पर्यटकमध्ये केही एकै दिनमा फर्कने खालका हुन्छन् भने केही लामो समयसम्म बस्ने गरी पारिवारिक भ्रमणमा आउनेको संख्या पनि दैनिक रुपमा बढिरहेको उनले बताए।
हुन न अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकहरू पनि होटल तथा रिसोर्टमा पुग्ने गरेका छन्। आन्तरिकसँगै भारतीय पर्यटकहरूको संख्या बढ्दा होटल क्षेत्रमा उत्साह बढेको व्यवसायीको भनाइ छ।

भारतीय पर्यटकहरुको कारण एक साता अघिदेखि नै गौशाला क्षेत्रका होटल भरिएको छ। गौशालामा सञ्चालित निराकर होटलका सञ्चालक कृष्ण केशीले पछिल्लो एक साताको बीचमा त्यस क्षेत्रका सबै होटलको कोठा पूर्ण रुपमा बुक भइसकेको जानकारी दिए। ‘नयाँ वर्ष मनाउन आउनेहरूको संख्या बढेको कारणले अग्रिम बुकिङ हुने क्रम बढेको छ,’ सञ्चालक केशीले भने, ‘होटलमा आउनेहरु मध्ये अधिकांश भारतीय नै छन्।’
तारे होटलमा घट्दै पर्यटक
साना तथा मझौला होटलमा पर्यटकको संख्या बढे पनि तारे होटलमा भने विस्तारै घट्दो क्रममा रहेको छ। खासगरी अंग्रेजी नयाँ वर्ष मनाउन विदेशीहरू स्वदेशमै फर्किने भएकाले तारे होटलमा आउने पर्यटकको संख्या घटिरहेको व्यवसायीहरूको भनाइ छ।
खासगरी पुस,माघ महिनालाई पर्यटन क्षेत्रको लागि अफसिजनको रुपमा लिँदै आएको छ। तर,पछिल्लो वर्षदेखि भारतीय पर्यटकहरूको आगमण विस्तारै बढ्न थालेको छ। नेपाल पर्यटन बोर्डले केही वर्षदेखि भारतीय पर्यटकलाई नेपालमा घाम ताप्नका लागि निम्तो दिँदै आएका छन्।
भारतमा अत्याधिक चिसो हुने र त्यसको तुलनामा नेपालमा कम हुने भएकाले परिवारसहित आउनेहरुको संख्या बढिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।