काठमाडौं। इलेक्ट्रीक (ईभी) गाडीको उत्पादन तथा बिक्री बढेसँगै ईभीमा प्रयोग हुने ‘हाई भोल्टेज ब्याट्री’को उत्पादन निरन्तर बढ्दै गएको छ। विश्व अटो बजारमा ईभी गाडी उत्पादनको वर्चस्व बढेकाले विभिन्न कम्पनीहरुले ब्याट्री उत्पादनमा लगानी बढाउँदै लगेका छन्। पछिल्लो समय सवारी साधन उत्पादन गरिरहेका स्थापित ब्राण्डहरुले ब्याट्री उत्पादनमा लगानी गर्न जोड दिएको छ।
महिन्द्राले विश्वको दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बिवाईडीसँग साझेदारी गरेको छ। महिन्द्राले केही दिनअगाडि भारतीय बजारमा सार्वजनिक गरेको बीई-६ र एक्सईभी-९ ईमा बिवाईडीको ब्याट्री प्रयोग गरेको छ।
सुजुकीले तोशिबा कर्प र डोन्सो कर्प कम्पनीसँग लिथियम आयोन ब्याट्री उत्पादन गर्न साझेदारी गरेको छ। यी दुई कम्पनीले उत्पादन गरेको ब्याट्री सुजुकीको ईभीमा प्रयोग हुनेछ।
टोयोटा र सुजुकीले ईभी प्लेटफर्मका लागि साझेदारी गरेका छन्। सुजुकी ई-भिटारा र टोयोटा अर्बन क्रुजर एउटै प्लेटफर्ममा निर्माण गरिएको छ। भारतमा एमजीसँग पार्टनरशीप गरेको जेएसडब्लू ग्रुपले कोरियन कम्पनी एलजी इनर्जी शोलुसनसँग मिलेर हाई भोल्टेज ब्याट्री उत्पादन गर्ने योजना बनाएको छ।
जेएसडब्लू र एलजी इनर्जी शोलुसनले इलेक्ट्रीक भेहिकल र रिन्यूएवल इनर्जी स्टोरेज उत्पादनका लागि १.५ बिलियन डलर लगानी गर्ने छन्। दुई कम्पनीले ५०/५० प्रतिशतको लगानीमा नयाँ संयुक्त कम्पनी स्थापना गर्ने विषयमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेका छन्।
एमजी र जेएसडब्लु कम्पनीबीचको समझदारीअनुसार एलजी इनर्जी शोलुसनले ब्याट्री उत्पादनका लागि आवश्यक टेक्नोलोजी र इक्यूप्मेन्टमा ल्याउने छ। अन्य कामका लागि आवश्यक नगद लगानी जेएसडब्लु ग्रुपले गर्ने जनाएको छ। अहिले एमजीसँग साझेदारीमा कार उत्पादन गर्दै आएको जेएसडब्लू ग्रुपले चाँडै आफ्नै ब्राण्डमा पनि कार ल्याउने योजना बनाएको छ।
चिनियाँ अटोमोबाइल ग्रुप चेरीले अनहुई प्रान्तको उहु इकोनोमीक तथा टेक्नोलोजीकल डेभलपमेन्ट जोनमा ब्याट्री प्लान्ट लगाउने भएको छ। नयाँ प्लान्टमा चेरी ग्रुपअन्तर्गतको अनहुइ अन्वा न्यू इनर्जी कम्पनी लिमिटेड, जीपीएससी थाइल्याण्ड, अजेवा जापान र गोसन हाइटेक मिलेर साझेदारीमा प्लान्ट लगाउन लागेका हुन्।
यस्तै, होण्डा र सोनीले ईभी निर्माणमा साझेदारी गरेका छन्। सोनीले ब्याट्री टेक्नोलोजी उपलब्ध गराउने र होण्डाले ईभी उत्पादन गर्ने योजना छ। यिनीहरुले सोनी होण्डा मोबिलिटी इंक कम्पनी खडा गरेका छन्।
अहिले टोयोटाले सोलिड स्टेट ब्याट्रीको धेरै वटा अग्राधिकार (प्याटेन्ट) दर्ता पनि गरेको छ। यस दौडमा बीएमडब्लू, होण्डा, हुण्डाई, निसान जस्ता ठूला अटोमोबाइल कम्पनीले पनि आफ्नै हिसाबले सोलिड स्टेट ब्याट्री टेक्नलोजीको विकासमा काम गर्दै आएका छन्। गोल्डम्यान साक्स रिसर्चले २०२६ सम्ममा ब्याट्रीको मूल्यहरु ५० प्रतिशत घट्ने जनाएको छ।
स्थापित ब्राण्डहरुले ब्याट्री उत्पादनमा साझेदारी थालेसँगै ब्याट्रीको मूल्यमा उल्लेखनीय गिरावट आउन थालेको छ। ब्लूमबर्ग एनइएफकाअनुसार चीनको ब्याट्री उत्पादक कम्पनी सीएटीएल र बिवाईडी जस्ता कम्पनीहरुको ब्याट्री मूल्य विश्वव्यापी औसतभन्दा कम छ।
ईभी ब्याट्रीको मूल्यहरु अपेक्षा गरिएभन्दा छिटो घट्दै गएको छ। यो वर्ष २०१७ पछिको सबैभन्दा ठूलो गिरावट आएको हो। नयाँ प्रविधि, ब्याट्री उत्पादनमा वृद्धि र सस्तो विकल्पहरू बजारमा आउँदा ब्याट्रीको मूल्य घटेको छ।