काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षाअगावै काठमाडौं महानगरले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ। महानगर नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी थिइन्।
'महानगरको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रमअनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रम हेरफेर गर्न जरुरी देखिएको छ,' उनले भनिन्, 'विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नु परेको हो।'
संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरका विषयगत समिति एवं अन्य विभिन्न समितिहरूमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डंगोलले बताइन्।
संशोधित प्रस्तावअनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गर्न लागिएको छ। यस क्षेत्रमा यसअघि ७२ करोड ९९ लाख ७१ हजार विनियोजन भएको थियो।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा १२ अर्ब एक करोड ९३ लाख ९१ हजार बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार कायम गर्ने प्रस्ताव गरिएको छ।
सामाजिक विकासका क्षेत्रमा यसअघि पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार विनियोजन भएकोमा त्यसलाई घटाएर पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार कायम गर्ने प्रस्ताव गरिएको छ। त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ। उक्त क्षेत्रमा यसअघि दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार विनियोजन भएको थियो।
पाँच महिनामा १६ प्रतिशत बजेट खर्च
महानगरले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ। चालु आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म चार अर्ब एक करोड चार लाख ५६ हजार बराबर खर्च भएको छ। हालसम्मको बजेट खर्च कूल विनियोजनको १६ दशमलव १० प्रतिशत हो।
महानगरले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ। महानगरले चालु आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो।
पुस ११ गतेसम्म कूल चार अर्ब नौ करोड ८९ लाख ३६ हजार बराबर राजस्व प्राप्त भएको महानगरले जनाएको छ। जसमा आन्तरिक राजस्वतर्फ कूल दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार संकलन भएको छ।
राजस्व बाँडफाँडबाट ५९ करोड ८९ लाख ४१ हजार र संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ८८ करोड ४४ लाख ५१ हजार रहेको छ। हालसम्मको कूल राजश्व संकलन वार्षिक लक्ष्यको ३१ दशमलव ०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कूल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ।