काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक विद्यालयमा निर्माण गरेका भवनमध्ये रुपन्देहीको सियारी गाउँपालिका ४ छपियाको पब्लिक सेकेण्डरी स्कुलमा पुस्तकालय उद्घाटन गरिएको छ।
विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रियमा बैंकको सहयोगमा भवन निर्माण भएको थियो। उक्त भवन विद्यालयलाई हस्तान्तरण गरिए पनि पुस १२ गते उद्घाटन गरिएको हो।
भवन उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, एनआईसी एशिया बैंक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्कीसँगै विद्यालयका प्रतिनिधिको उपस्थिति थियो। पुस्तकालय सञ्चालनमा आएसँगै विद्यालयका झण्डै २७ सय विद्यार्थी तथा शिक्षक/शिक्षिका प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।
यसअघि बैंकले मधेश प्रदेशको सिराहा भगवानपुर गाउँपालिका १ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, तनहुँको बन्दिपुर गाउँपालिका १ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, कैलालीको जोशीपुर गाउँपालिका १ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, झापाको बुद्धशान्ती गाउँपालिका २ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका ३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालय भवनको उद्घाटन गरी हस्तान्तरण गरेको थियो।
त्यसैगरी, पर्साको वीरगञ्ज महानगर १४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालय र चितवनको राप्ती नगरपालिका ७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको थियो।
बैंकले पुस्तकालय भवन निर्माणका लागि २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो। भवन निर्माणपछि विद्यालयमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।