काठमाडौं। नेपाली आम सञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघले विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गरी विशेष कार्यक्रमसहित २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
राजधानीको ताहाचलस्थित होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टा-छुट्टै वार्षिक, आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय-व्यय विवरण बहुमतले पारित गरेको थियो।
आयोजित दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षलाई संलग्न गराई ‘स्टेईग रेलिभेन्टः रिसेपिङ्ग नेपाल्स एडभर्टाइजिङ्ग ल्याण्डस्केप शीर्षक’मा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा पत्रकार तथा प्रस्तुकर्ता भुषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापाले धारणा राखेका थिए।
वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरेका थिए।
तेस्रो सत्रमा वरिष्ठ सञ्चारकर्मी यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानलका अध्यक्ष आर के मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व. श्री पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योगमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।