काठमाडौं। पछिल्लो समय केही कम्पनीको सेयर मूल्य अस्वभाविक ढंगमा उतारचढाव भइरहेको छ। फाइनान्स, विकास बैंक, लघुवित्त जस्ता क्षेत्रका कतिपय सूचीकृत कम्पनीको सेयर मूल्य निराधार आकाशिने र सोही गतिमा घट्नेक्रम जारी छ।
हुन त, बजारमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका लगानीकर्ता हुन्छन्। लगानीकर्ताले आफ्नो लक्ष्यअनुरूप कम्पनी छनोट गरी खरिद बिक्रीमा सहभागी हुने भएकाले सेयर मूल्य तथा कारोबारमा सामान्य घटबढ हुनुलाई स्वभाविक मानिन्छ।
तर, नेपाली सेयर बजारमा प्रतिकित्ता २००/३०० रुपैयाँ मूल्य रहेका कम्पनीमा एकपछि अर्को सकारात्मक सर्किट लाग्दै दुई हजार माथि पुग्ने र केही सातामा घटेर तल आइपुग्ने भइरहेको छ। फेरि, यसरी सेयर मूल्यमा अस्वभाविक उतारचढाव आउने अधिकांश कम्पनी वित्तीय सूचकमा खराब, वर्षौंदेखि लगानीकर्तालाई प्रतिफल नदिएका र कमजोर प्रदर्शन भएका छन्। नेपाल फाइनान्स, कर्पोरेट विकास बैंक, गुडविल फाइनान्स, नारायणी विकास बैंक, सिन्धु विकास बैंक आदिमा यही किसिमको प्रवृत्ति देखिँदै गर्दा ग्रीन विकास बैंक पनि यही ट्रेण्डमा छ।
एक वर्षअघि अर्थात् २०८० पुस ११ मा ग्रीन डेभलपमेण्टको सेयर प्रतिकित्ता ३२७ रुपैयाँमा कारोबार भइरहेको थियो। पुसमा ३२७ रुपैयाँमा रहेको यस विकास बैंकको मूल्य २०८१ वैशाख १३ सम्म आउँदा सामान्य बढेर ३९९ रुपैयाँ कायम भयो। वैशाखबाट उकालो लाग्न थालेको कम्पनीको मूल्य असोज १४ मा पुग्दा ६७५ र मंसिर १७ मा आउँदा ११५० (त्यसदिन १२०१ सम्म) पुगेर २०८१ पुस ११ गते ९६० रुपैयाँमा खुम्चिसकेको छ। प्रतिकित्ता ३०० रुपैयाँ रहेको ग्रीन डेभलपमेण्टको मूल्य १२०० पुगेर फेरि ९४० आउँदै गर्दा अन्तिम बायरले ठूलो रकम गुमाउनु स्वभाविक हो।
ग्रीन डेभलपमेण्टको सेयर मूल्य र कम्पनीको वित्तीय अवस्थालाई तुलनात्मक रुपमा हेर्ने हो भने आफैमा अस्वभाविक देखिन्छ। गत वर्षको पहिलो त्रैमासमा बैंकले समस्या र चुनौतीको रुपमा आन्तरिक समस्या तथा चुनौतीका रुपमा बैंकको सञ्चालन खर्चमा वृद्धि, ब्याज दरमा हुने परिवर्तन, उत्पादनशिल क्षेत्रमा कर्जाको माग साथै निक्षेप वृद्धिमा सन्तुलन नभएको, बजारमा देखिएको तरलता अभाव, अस्वस्थ प्रतिस्पर्धा, सञ्चालन जोखिम, सूचना प्रविधिसम्बन्धी जोखिम आदि समस्या तथा चुनौतीहरु रहेको उल्लेख गरेको थियो।
बाह्य समस्या तथा चुनौतीका रुपमा मुद्रा स्फिर्ती तथा ब्याजदर वृद्धिको कारण सम्भावित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको संकुचन उत्पन्न हनु सक्ने जोखिमहरु तथा असुलीमा चापको कारणले समग्र अर्थतन्त्रको आगामी दिशा, बढ्दो प्रतिस्पर्धा, लगानी मैत्री वातावरणको कमी तथा नियमनकारी निकायहरुको निर्देशनले श्रृजना हुनसक्ने समस्याले प्रतिफलात्मक व्यवसाय वृद्धिमा चुनौतीहरु थप हुन सक्ने छन्।
समग्र आन्तरिक तथा बाह्य समस्याका कारणले श्रृजना हुन सक्ने सम्भावित चुनौतीहरुलाई दृष्टिगत गरी व्यवसायिक रणनीति तथा कार्ययोजना परिमार्जित गर्दै ग्राहकमुखी सेवा प्रदान गरी व्यवसाय विस्तार गरिदै लगिने रणनीति अपनाइने उल्लेख गरेको थियो। तर, चालु वर्षको पहिलो त्रैमासमा आइपुग्दा बैंकले एक वर्षअघि गरेको प्रतिबद्धताहरु पूरा नगरेको देखिन्छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकद्वारा प्रकाशित अपरिस्कृत वित्तीय विवरण मूल्यांकन गर्दा बैंकले उक्त अवधिमा बैंकले ५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको तुलनामा बैंकले निक्षेप संकलन ७ प्रतिशत र कर्जा प्रवाह ४ प्रतिशतले वृद्धि गरेको हो। उक्त अवधिमा बैंकले ४ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी, ५ करोड ३९ लाख रुपैयाँ खुद शुल्क र कमिसनबापतको खुद आम्दानी र १ करोड १६ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ।
यस्तो आम्दानीबाट बैंकले सञ्चालन खर्च गर्नु पर्दा सञ्चालन नाफा भने १ करोड ५६ लाख रुपैयाँ नकारात्मक छ। जसले गर्दा बैंकको खुद नाफा १ करोड ५६ लाख रुपैयाँ नकारात्मक छ। खुद नाफा नकारात्मक रहे पनि बैंकले अघिल्ला वर्षहरुमा गरेको गैरबैंकिङ सम्पत्तिको प्रोभिजन र पाकेको ब्याज बक्यौता फिर्ता गराएर वितरण योग्य नाफा १ करोड २६ लाख रुपैयाँ आर्जन गरेको देखाएको छ। बैंकले ३२ लाख रुपैयाँ गैरबैंकिङको प्रोभिजन फिर्ता गरेको र ६९ लाख रुपैयाँ ब्याज बक्यौता उठाएको हो।
एक वर्षको अवधिमा बैंकको अधिकांश सूचांकहरु नकारात्मक दिशातर्फ उन्मुख छन्। गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ करोड ५६ लाख रुपैयाँ र वितरण योग्य नाफा ५६ लाख रुपैयाँ नकारात्मक छ। गत वर्षको सोही अवधिमा बैंकले ७६ लाख रुपैयाँ खुद नाफा कमाउँदा वितरण योग्य नाफा भने ५६ लाख रुपैयाँ नकारात्मक थियो।
गत वर्षमै बैंकको न्यून अर्थात् ७६ लाख रुपैयाँ मात्रै रहेको खुद नाफा गरेकोमा चालु वर्षको पहिलो त्रैमासमा केही सकारात्मक हुँदासमेत त्यसको भरपाई भएको देखिन्दैन। जसले गर्दा बैंकको खुद नाफा वृद्धिदर १४९ प्रतिशत नकारात्मक र वितरण योग्य नाफाको वृद्धिदर ३२६ प्रतिशत नकारात्मक रहेको छ।
बैंकले चालु वर्षको सोही अवधिमा ७६ लाख रुपैयाँ खुद नाफा र १ करोड २६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाउँदा पनि लगानीकर्तालाई २.३५ प्रतिशत मात्रै लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ। यद्धपि, बैंकको अन्तिम लेखा परीक्षणपछि राष्ट्र बैंकले दिएको स्वीकृतिअनुसार अघिल्ला वर्षहरुको सञ्चित कोषबाट समेत निकाले सेयर धनीलाई गत वर्षको मुनाफा ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ।
चालू वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चित कोषमा १ करोड २६ लाख रुपैयाँ मौज्दात छ। गत वर्षको सोही अवधिमा यस्तो कोषमा ३ करोड ८५ लाख रुपैयाँ मौज्दात थियो। एक वर्षको अवधिमा बैंकको सञ्चित कोषको पैसा १७ प्रतिशतले घटेको देखिन्छ। यसतो कोषमा बैंकले वितरण योग्य नाफा अर्थात् सेयर धनीलाई दिन मिल्ने गरी आर्जित नाफा राखेका हुन्छन्। यस्तो कोषमा रहेको पैसालाई बैंकले आगामी वर्षमा सेयर धनीलाई लाभांश दिने वा आकस्मिक दायित्व पूर्ति गर्न प्रयोग गर्छन्।
उक्त अवधिमा बैंकको निष्कृय कर्जा अनुापात (एनपीएल) ०.१८ प्रतिशत विन्दुले वृद्धि भएर ४.७३ प्रतिशत कायम भएको छ। साथै, गत वर्षको पहिलो त्रैमासमा बैंकको कर्जा निक्षेप अनुपात ८०.५२ प्रतिशत, बेसरेट ९.७५ प्रतिशत कायम छ। उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेथवर्क १ सय १३ रुपैयाँ ७६ पैसा कायम छ। चुक्ता पुँजी ५३ करोड ८७ लाख रुपैयाँ रहेको ग्रीन विकास बैंकको ५३ लाख ८७ हजार २२० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। यसको ५१ प्रतिशत अर्थात् २७ लाख ४७ हजार ४८२ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ भने ४९ प्रतिशत अर्थात् २६ लाख ३९ हजार ७३८ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ।
खासगरी, लगानीकर्ताले आफूले खरिद गर्न चाहेको कम्पनीको वित्तीय अवस्था र कार्य सम्पादनको विश्लेषण गर्न आवश्यक हुन्छ। कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, मूल्य-बिक्री अनुपात, बजार मूल्य र किताबी मूल्य अनुपात, ऋण इक्विटी अनुपात, लाभांश वितरण अनुपात जस्ता प्रमुख वित्तीय सूचकहरु हेर्नुपर्ने हुन्छ। तर, यी विषयको अध्ययन नगरी अन्धाधुन्ध सेयर खरिद गर्ने कार्यले लगानीकर्ताको लगानी उच्च जोखिममा धकेलिएको छ। लगानीकर्ताले यी विषयमा ध्यान नदिई कुनै निश्चित व्यक्ति वा समूहको प्रभावमा परेर लगानी गरेकाले बजारमा कमजोर कम्पनीको चहलपहल बढी देखिएको हो।
ग्रीन विकास बैंकको सेयर मूल्य उतारचढाव
मिति | सेयर मूल्य (रुपैयाँमा) |
२०८० पुस ११ | ३२७ |
२०८१ वैशाख १३ | ३९९ |
२०८१ असोज १४ | ६७५ |
२०८१ मंसिर १७ | १२०१ |
२०८१ पुस ११ | ९६० |