काठमाडौं। विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने नेपाली डायस्पोराको प्रतिबद्धता रहेको छ। युनाइटेड नेपाली डायस्फोरा (अण्डो)द्वारा आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिले समानता, सहकार्य र समावेशीताका सिद्धान्तमा आधारित रही विश्वव्यापी डायस्फोरालाई एकजुट गर्दै नेपाल र नेपालीको हितका लागि काम गर्ने जनाए।
यस अवसरमा वरिष्ठ समाजसेवी र सिएनएन हिरो अनुराधा कोइरालाले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई मातृभूमिको विकासमा लगाउन आग्रह गर्दै भावी सन्ततिलाई पनि नेपालप्रतिको आस्था अभिवृद्धि गराउन नेपाली डायस्पोरासँग आग्रह गरे।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले मातृभूमिको माया र दायित्वलाई आत्मसात गर्दै आफूले विभिन्न परियोजनामा लगानी र सहयोग गर्दै आएको उल्लेख गर्दै सरकारले पनि नेपाली डायस्पोरालाई लगानीमैत्री वातावरण मिलाउनु पर्ने बताए।
अण्डोका अध्यक्ष सोनाम लामाले नेपाल र नेपाली डायस्पोरालाई एकताबद्ध गरी मातृभूमिको दिगो भविष्य निर्माणमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको यस संस्थामार्फत जलवायु परिवर्तन र प्रतिभा पलायन जस्ता गम्भीर समस्या एवं युवा पुस्तालाई नेपालको प्रगतिमा परिचालन गर्न विभिन्न रचनात्मक काम भइरहेको बताए।
नवीनतम् पूर्वाधार र डायस्पोरा विषयमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुँबेर नेपाली र ऊर्जाविद् कुशल गुरुङले नेपालको पूर्वाधार तथा यातायात क्षेत्रमा डायस्पोराले गर्नसक्ने सहयोगका बारेमा प्रस्तुतीकरण दिए।
यस्तै, तेस्रो प्राविधिक सत्रमा नीति र साझेदारी विषयमा नेपला पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जीतेन्द्र उपाध्याय र नीति अुसन्धान प्रतिष्ठानकी डा. इन्द्र अधिकारीले विद्यमान नीतिमा रहेका कमजोरीका कारण डायस्पोरासँगको साझेदारीमा देखिएको समस्याबारे धारणा राखेका थिए।
नेपालको दिगो विकासका लागि डायस्फोराको संलग्नता भन्ने नाराका साथ दुई दिनसम्म जारी रहने सम्मेलनमा विश्वका विभिन्न देशबाट आएका करिब ७० जना प्रतिनिधिको सहभागिता रहेको छ।