दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रमा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको यात्रु विमान दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु भएको छ।
स्थानीय अग्नि नियन्त्रण विभागका अनुसार दुई जनाको उद्धार गरिएको छ। जेजू एयर फ्लाइट ७सी २२१६, जुन बैंककबाट मुआन गइरहेको थियो, सो विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। स्थानीय समयअनुसार बिहान ९ बजे (शनिबार साँझ ७ बजे ईटी) विमान अवतरणका क्रममा अवतरण गियर (ल्याण्डिङ गियर) मा खराबी आएपछि दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
दक्षिण कोरियाका विभिन्न समाचार संस्थाहरू – वाईटीएन, जेटीबीसी र एमबीसीले प्रसारण गरेको फुटेजमा विमान अवतरण गियर बिना नै रनवेमा तीव्र गतिमा चिप्लिएको र रनवेको किनारमा रहेको माटोको बाँधसँग ठोक्किँदा आगलागी भएको देखिन्छ।
आगजनीबाट विमान लगभग पूर्णरूपमा नष्ट दक्षिण जियोल्ला फायर सर्भिसका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना पुरुष र ३७ जना महिला रहेका छन्। उद्धारकर्मीहरूले पानीको तोप प्रयोग गरेर जलेको विमानको भग्नावशेषमा लागेको आगो निभाएको देखिएको छ। विमान ब्वाइङ ७३७-८०० मोडलको रहेको फ्लाइट-अवेयरले जनाएको छ। घटनास्थलमा उद्धार टोलीले विमानका विभिन्न टुक्राहरू रनवेभरि छरिएको अवस्थामा फेला पारेका छन्।
दुर्घटनामा परेका दुई जना थाई नागरिक रहेको दक्षिण कोरियाको भूमि मन्त्रालयले जनाएको छ। अनुसन्धान जारी दक्षिण कोरियाको घटना अनुसन्धान समितिका अधिकारीहरू स्थानीय समयअनुसार बिहान १०:१० (शनिबार राति ८:१० ईएसटी) मा घटनास्थलमा पुगेका छन् र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको भूमि मन्त्रालयले जनाएको छ। मुआन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडानहरू रद्द गरिएको कोरिया एयरपोर्ट कर्पोरेसनले बताएको छ।
राजनीतिक संकटबीचको दुर्घटना दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग-मोकले घटनापछि आपतकालीन उपकरण र जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन्। दुर्घटनाको यो घटना दक्षिण कोरियाको पछिल्लो राजनीतिक अस्थिरताको समयमा भएको हो। वर्तमान राष्ट्रपति युन सुक योएललाई दुई साताअघि संसदले शक्ति च्युत गरेको थियो। उनकै स्थानमा आएका कार्यवाहक राष्ट्रपति हान डक-सु पनि शुक्रबार संसदबाट महाभियोगमा परेपछि चोई सांग-मोकले जिम्मेवारी सम्हालेका हुन्।