खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक खण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन्।
समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ। विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चियासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ।
विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ। चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताउँछिन्। उनले भनिन्, “काठमाडौं तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नु हुन्छ।”
मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो। तीन सन्तानकी आमा विरसलाई श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन्।
सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरा मात्र बिक्री गर्दै आएकी छन्। छाली र चिउरा प्रतिबटुका एक सयमा बिक्री गर्ने गरिएको छ।
विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी थिइन्। एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरेकी छन्। अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरे।
अहिले तीनैजना अध्ययनकै सिलसिलमा जापान पुगेका छन्। तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्न सफल भएकी हुन्।