काठमाडौं। १२५ सिसी सेग्मेन्टका बाइक ग्राहक रुचाइमा परिरहेका छन्। कम बजेटमा स्पोर्टी बाइक चाहनेका लागि यसमा धेरै विकल्प छन्। १२५ सिसी सेग्मेन्टका यी बाइकमा ग्राहक आकर्षण बढ्दै जाँदा अटो निर्माता कम्पनीले धेरै विकल्प थप्दै गएका छन्।
हिरो एक्सट्रिम १२५ आर र पल्सर एन १२५ एकै सेग्मेन्टका बाइक हुन्। नेपालमा हिरो एक्सट्रिम १२५ आर सिजी मोटर्सले आधिकारिक रुपमा सार्वजनिक गरी बिक्री सुरु गरिसकेको छ। बजाज पल्सर एन अपडेट भर्सन नेपाली बजारमा छिट्टै आउने नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले जनाएको छ। यी दुई ब्रान्डका बाइकमा लगभग समान फिचर छन्।
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले २ लाख ८९ हजार रुपैयाँ सुरुआती मूल्य तोकेर एक्सट्रिम १२५ आरको बिक्री सुरु गरेको छ। यी हुन् पल्सर एन १२५ र हिरो एक्सट्रिम १२५ आरबीचका भिन्नताः
इन्जिन
बजाज पल्सर एनमा १२५ मा १२४.५९ सिसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, बीएस ६ इन्जिन रहेको छ। उक्त इन्जिनले अधिकतम ८ हजार ५०० आरपीएममा १२ पीएस पावर र ७००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ। यस बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ।
हिरो एक्सट्रिम १२५ आरमा १२४.७ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, फोर स्ट्रोक, स्प्रिन्ट इबीटी इन्जिन रहेको छ। उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११.५ बीएच पावर र ६००० आरपीएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ। यसमा पनि ५ स्पिडको गियरबक्स छ। यो मोटरसाइकलले पनि ० देखि ६० किलोमिटरको गति मात्र ५.९ सेकेन्डमै पूरा गर्नेछ।
माइलेज
कम्पनीका अनुसार बजाज एन १२५ ले लगभग ६० किलोमिटर प्रतिलिटर माइलेज दिनेछ। कम्पनीका अनुसार हिरो एक्स्ट्रीम १२५ आरले ६६ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ।
ब्रेक
दुवै मोटरसाइकलमा ट्युवलेस टायर र अलोय ह्वील पाउन सकिन्छ। बजाज एन १२५ मा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ। बाइकको अगाडि कभरसहित टेलिस्कोपिक फोर्क सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन सेटअप छ।
हिरोले एक्सट्रिममा अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक, कम्बाइन ब्रेकिङ सिस्टम दिएको छ। यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा सोवाको प्रिलोड एड्जस्टेबल मोनोसक छ।
फिचर
प्रिमियम कम्प्युटर सेग्मेन्टमा आधारित दुवै मोटरसाइकल स्पोर्टी डिजाइन, उत्कृष्ट लुक्स र आधुनिक फिचर भएका मोटरसाइकल हुन्। बजाज एन १२५ एलइडी लाइट, जेड आकारको एलइडी डीआरएल, एलइडी टेल लाइट, टर्न इन्डिकेटरमा हेलोजन बल्ब लाइट पाउन सकिन्छ।
चालक सहजताका लागि मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट, अपराइट ह्यान्डलबार, सिंगल पिस पिलियन ग्रयाब रेल, चंकी टायर र ठूलो आकारको डिजिटल एलसीडी स्क्रिन दिइएको छ। उक्त स्कृनमा ब्लुटुथ कनेक्टिभिटी डिटेल्स, टिप मिटर, स्पिडोमिटर, फ्युल गेज, टेकोमिटर, समयजस्ता सूचना हेर्न सकिन्छ।
एक्स्ट्रिम १२५ आरमा कम्पनीले ‘फर्स्ट इन सेग्मेन्ट’ फिचर दिएको छ। यसमा रेजर सार्प एलइडी प्रोजेक्टर लो–स्लङ हेडल्याम्प र एलइडी टर्न इन्डिकेटर, डिजिटल कन्सोल, एलसीडी युनिट, डाइमन्ड फ्रेम, एलइडी डिआरएलजस्ता फिचर पाउन सकिन्छ।