काठमाडौं। कर्णाली चिसापानीस्थित जालपादेवी केबलकारको बटम स्टेसन शिलान्यास भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले आज केबलकारको शिलान्यास गरेका हुन्।

उक्त अवसरमा मन्त्री राणाले जालपादेवी केबलकार परियोजनालाई पर्यटकीय समृद्धिको दिशामा महत्त्वपूर्ण कदमको रूपमा लिँदै समग्र कर्णाली क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले भनिन, “सुदूरपश्चिम प्रदेश पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। प्राकृतिक स्रोत र सम्पदाहरुले यो भूगोललाई सम्पन्न बनाएको छ, त्यस्तै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि प्रगाढ छ। यस कारण, यहाँका समुदायहरु विकासप्रेमी छन्। सुदूरपश्चिम प्रदेशमा बन्ने यो केबलकार र होटलसहितको पर्यटकीय पूर्वाधारले मुलुकको समृद्धिका लागि ठूलो योगदान पुर्याउनेछ।”
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पनि निर्माण हुने केबलकार र अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको भौतिक र आर्थिक विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए। उनले थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह गर्दै भन्नुभयो, “जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
अध्यक्ष ढकालले परियोजनाले स्थानीय समाजको आर्थिक प्रगति र रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताए। साथै, उनीहरूले केबलकार निर्माण सम्पन्न भएपछि क्षेत्रको पर्यटकीय आकर्षणमा वृद्धि हुने र स्थानीय जीवनस्तर सुधारमा योगदान पुग्ने दाबी गरे।

शिलान्यास कार्यक्रममा उपस्थित स्थानीय नेता र जनप्रतिनिधिले परियोजना सफल कार्यान्वयनको शुभकामना दिएका छन्।
सुदूरपश्चिम प्रदेशको कर्णाली चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं. ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला सञ्चालन हुनेछन्। यस परियोजनामा कुल पाँच अर्ब रुपैयाँको लगानी हुनेछ। बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुने छ भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट र चिल्ड्रन पार्कसहित अन्य पर्यटकीय र मनोरञ्जनात्मक पूर्वाधार निर्माण हुनेछन्।