काठमाडौं। पछिल्ला केही दिनयता बाँके, दाङ र बर्दिया जिल्लाका सर्वसाधारण कर्णाली डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालय दिनहुँ धाइरहेका छन्। बैंकमा निक्षेप राख्ने निक्षेपकर्ता आफ्नो पैसा फिर्ता माग्दै बैंकको काउण्टरमा पुग्ने गरेका हुन्। तर, बैंकबाट निक्षेपकर्ता पैसा हैन ‘भोलि भुक्तानी’ आश्वसन लिएर फर्किरहेका छन्।
विगत ६ महिनायता नेपाल राष्ट्र बैंकको तुरुन्त सुधारात्मक कारबाहीमा थियो। सुधार हुन नसकेपछि नियामकले पुस १० गतेदेखि कर्णालीलाई ‘टेक ओभर’ अर्थात बैंकको व्यवस्थापन नियन्त्रणमा लिएर सुधारात्मक काम अघि बढाइरहेको छ। उक्त टिमले बैंकले लिएको निक्षेप भुक्तानीलाई प्राथमिकतामा राखेर काम गरिहेको छ।
बैंकले सर्वसाधारणसँग लिएको ४ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन राष्ट्र बैंकले अन्य बैंकहरूसँग सापटी लिने, बैंकको कर्जा अन्य बैंकहरूलाई बिक्री गर्ने, बैंकको स्थिर सम्पत्ति बिक्री गर्ने, सम्पत्ति तथा दायित्व मूल्याकंन (डीडीए) गराएर संस्थापक सेयर बिक्रीका लागि आवश्यक काम गर्नेलगायतका काम शुरु गरिसकेको छ।
राष्ट्र बैंकले कर्णालीको व्यवस्थापन नियन्त्रणमा लिएर सञ्चालनका लागि आफ्नो टिमलाई बाँके पठाएको हो। उक्त टिममा राष्ट्र बैंक नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजक, वित्तीय संस्था सुपरिवेक्षणका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक गुगल किशोर कुशवाहा सदस्य छन्।
राष्ट्र बैंकले टेक ओभर गरे पनि निक्षेपकर्तालाई भुक्तानी दिन मिल्ने गरीको तरलता बैंकमा नभएकाले सर्वसाधारणहरुले निक्षेप भुक्तानी पाउन सकेका छैनन्।
यो टिमलाई सबैभन्दा पहिले बैंकमा भएको तरलताले साना निक्षेपकर्ताको पैसा फिर्ता दिने व्यवस्था मिलाउने निर्देशन दिइएको थियो। राष्ट्र बैंकको टिम बाँके नपुग्दै हाम्रो निक्षेप के हुन्छ? भन्ने प्रश्न लिएर सर्वसाधारण बैंकको कार्यालयमा पुगिसकेको टिमका संयोजक तथा राष्ट्र बैंक नियमन विभागका उपनिर्देशक खतिवडाले बताए।
‘डिपोजिटर हामी पुग्नुभन्दा अघि बैंकमा आएर कहिले पैसा फिर्ता होला भन्ने प्रश्न लिएर बस्नु भएको थियो, बैंकमा निक्षेप फिर्ता गर्ने गरी तरलता थिएन,’ राष्ट्र बैंक उनले भने, ‘त्यही भएर हामीले हिजो र आज पनि निक्षेप भुक्तानी स्थगित गरेका थियौँ, सर्वासाधारण बैंक आइरहनुभएको छ, उहाँहरूलाई हामी आइतबार दिउँसो वा मंगलबार बिहानदेखि निक्षेप भुक्तानी दिन सुरु गर्छौं।’
राष्ट्र बैंकले टेक ओभर गरे पनि निक्षेपकर्तालाई भुक्तानी दिन मिल्ने गरीको तरलता बैंकमा नभएकाले सर्वसाधारणहरुले निक्षेप भुक्तानी पाउन सकेका छैनन्। बैंक व्यवस्थापन नियन्त्रणमा लिएको राष्ट्र बैंकको टिमले अन्य बैंक तथा वित्तीय संस्थासँग अन्तर बैंक सापटी लिएर सर्वसाधारणको पैसा फिर्ता गर्ने गरी काम गरिरहेको संयोजक खतिवडाले बताए।
‘सबै बैंकर्स एसोसिएनलाई अन्तर बैंक सापटी र कर्जा खरिदका लागि पत्रचार गरेका छौँ, बैंकले सरकारी ऋण पत्रमा लगानी नगरेको हुँदा तरलता व्यवस्थापनमा तत्काललाई अहिले अन्य बैंकहरूको सहयोग मागिएको छ,’ उनले थपे, ‘राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिइसकेको हुँदा निक्षेपकर्ताले आत्तिनु पर्दैन, जसरी पनि फिर्ता हुन्छ।’
बैंकको साना निक्षेपकर्ता अर्थात् ५ लाख रुपैयाँभन्दा कम बचत खातामा रकम जम्मा गर्ने निक्षेपकर्ताको पैसा निक्षेप तथा कर्जा सुरक्षण कोषमा सुरक्षण गरिएको छ। बैंक पुन: सञ्चालनमा आउन नसकेको अवस्थामा पनि ५ लाख रुपैयाँभन्दा तलको निक्षेप फिर्ता दिने कोषका कार्यकारी अधिकृत (सिइओ) रमेश घिमिरेले बताए।
निक्षेपकर्ताको पैसा भुक्तान गर्नका लागि पहिलो प्राथमिकतमा बैंकको भल्डमा मौज्दात पैसा प्रयोग गर्ने, बैंकले अन्य बैंकलाई दिएको अन्तर बैंक सापटी फिर्ता लिने, सरकारी ऋणपत्र बिक्री गर्नु पर्छ।
‘अहिले राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएर सुधारका काम गरिरहेको छ, सुधार नहुने भएर बैंक खारेज हुने भए कोषले सुरक्षण गरेको ५ लाख रुपैयाँभन्दा तलको निक्षेप फिर्ता गर्छौं,’ उनले क्यापिटल नेपालसँग भने, ‘अहिले राष्ट्र बैंकले आफ्नो तवरले पैसा फिर्ता दिने काेशिस गरेर बैंक सुधार्न खोजिरहेको हो, तर सुधार नहुने अवस्था देखिए हामीले सुरक्षण गरेको पैसा निक्षेपकर्तालाई लाइन लगाएर बाँड्छौँ।’
कोषले दिएको पैसा बैंक खारेजीमा जाने अवस्थामा मात्रै दिन मिल्ने हुँदा कोषमार्फत् पाउने रकम सर्वसाधारणले पाउन केही समय लाग्ने उनको भनाइ छ। राष्ट्र बैंकले गरेको पछिल्लो निरीक्षणको क्रममा बैंकमा ४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप रहेको छ। जसमध्ये करिब २१ प्रतिशत निक्षेप ५ लाख रुपैयाँभन्दा तलको रहेको उनको भनाइ छ।
राष्ट्र बैंकको टिमले निक्षेपकर्ताको पैसा भुक्तान गर्नका लागि पहिलो प्राथमिकतमा बैंकको भल्डमा मौज्दात पैसा प्रयोग गर्ने, बैंकले अन्य बैंकलाई दिएको अन्तर बैंक सापटी फिर्ता लिने, सरकारी ऋणपत्र बिक्री गर्नु पर्छ। तर, बैंकको भल्डमा तरलता मौज्दात नभएको, बैंकले सरकारी ऋणपत्रसमेत खरिद नगरेको र अन्य बैंकलाई सापटी नदिएको हुँदा तत्काललाई अन्य बैंकसँग सापटी लिएर निक्षेपकर्ताको पैसा भुक्तान गर्न लागिएको हो।
अन्तर बैंक सापटीबाट आएको पैसाबाट निक्षेप भुक्तानी गर्नका लागि राष्ट्र बैंकको टिमले निक्षेपकर्ताको आवश्यताको आधारमा प्राथमिकता तय गरिरहेको छ। बैंकको निक्षेपले गर्जो टार्नु पर्ने, स्वास्थ्य उपचार गर्नुपर्ने, शिक्षा भुक्तानी गर्नुपर्ने विषयलाई मूल्यांकन गरी भुक्तानीको प्राथमिकता तय गरिने राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए।
‘बैंकका गुड लोन बिक्री गर्न, लिक्युट एसेटबाट लिक्युट लाइब्रेटी बनाउन सकिन्छ, यहाँबाट गएको टिम लिक्युट एसेट आइडेण्टिफाइ र म्यानेजमा हुनुहुन्छ, फिर्ता दिने पैसा नभएर तत्काल निक्षेप भुक्तानी गर्न नसकिएको हो, आइतबारदेखि भुक्तानी शुरु हुन्छ,’ उनले भने ‘राष्ट्र बैंकले डीडीए गराएर संस्थापक सेयर बिक्री गरेर भएपनि निक्षेपकर्ताको पैसा फिर्ता गर्छ।’
बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको बैंकको दाङमा ८ वटा, बाँकेमा केन्द्रीय कार्यालयसहित ५ वटा र बर्दियामा ६ वटा शाखा सञ्चालनमा छन्।
हाल बैंकको ५० करोड २८ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसमा ५१ प्रतिशत अर्थात् २५ लाख ६४ हजार ४३३ कित्ता सेयर संस्थागत सेयर हो। राष्ट्र बैंकले कर्णालीको निक्षेपकर्तालाई पैसा भुक्तानी गर्न अन्तिम विकल्पमा यी सेयर बिक्री गर्नसमेत सक्नेछ।
बैंकको वित्तीय अवस्था र राष्ट्र बैंकले निक्षेप फिर्ता गर्न सक्ने आधार
बैंकले असोज मसान्तसम्म ५ अर्ब २१ करोठ १८ लाख रुपैयाँ बढी निक्षेप संकलन गरी ३ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक सार्वजनिक गरेको थियो। बैंकलाई गत मंसिर ११ गते राष्ट्र बैंकले तत्काल सुधारको कारबाही गर्दै निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाए पनि निक्षेपकर्ताले पैसा फिर्ता दिँदा रकम घटेको छ। पछिल्लो तथ्यांकअनुसार बैंकमा ४ अर्ब ६६ करोड सर्वसाधारणको निक्षेप छ भने २ अर्ब ९८ करोड रुपैयाँ कर्जा सापटी रहेको तथ्यांक आएको छ।
बैंकद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार बैंकको निक्षेपमध्ये चालु खातामा ३ करोड ५३ लाख, साधारण बचतमा १ अर्ब ७५ करोड ८४ लाख, मुद्धति निक्षेपमा २ अर्ब ८५ करोड २६ लाख र कल निक्षेपमा ५३ करोड ७९ लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकले साधारण बचत खाताका निक्षेपकर्तालाई आवश्यकताको आधारमा पैसा भुक्तानी गर्न लागेको हो।
कर्णाली डेभलपमेण्ट बैंक ३ जिल्ला कार्य क्षेत्र भएर सञ्चालन भएको क्षेत्रीय स्तरको विकास बैंक हो। यो बैंकको बाँके, बर्दिया र दाङमा गरी १९ वटा शाखा सञ्चालनमा छन्। बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको बैंकको दाङमा ८ वटा, बाँकेमा केन्द्रीय कार्यालयसहित ५ वटा र बर्दियामा ६ वटा शाखा सञ्चालनमा छन्।
बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको भने बैंकले जनरल रिर्जममा ३९ करोड ९६ लाख रुपैयाँ राखेको छ। बैंकसँग २४ करोड ८७ लाख रुपैयाँ बराबरको स्थिर सम्पत्ति मौज्दात छ।
बैंकको खराब कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। बैंकले हालसम्म प्रवाहित कर्जामध्ये कृषिमा ६८ करोड ७३ लाख, कृषिसँग सम्बन्धी उद्यम व्यवसायमा ५३ करोड ९९ लाख, कन्ट्रक्सनमा ६ करोड २७ लाख, होलसेल व्यवसायलाई ९७ करोड ८४ लाख, सञ्चार यातायात र सार्वजनिक सेवामा १४ करोड ३९ लाख, घरजग्गामा १६ करोड, उपभोगमा ८ करोड २४ लाख र अन्य क्षेत्रमा ३५ करोड ८५ लाख रुपैयाँ कर्जा दिएको छ।
यस्तै, बैंकले क्यास केडिट ७७ करोड, ओभर ड्राफ्ट लोन २५ करोड ५० लाख, टर्म लोन ७४ करोड ८२ लाख, व्यक्तिगत घरजग्गा कर्जा ६ करोड २७ लाख, व्यवसायीक घरजग्गा कर्जा १६ करोड, सवारी कर्जा १४ करोड ३९ लाख, विपन्न वर्ग कर्जा १५ करोड ८५ लाख र अन्य प्रडक्टमा ७१ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
साथै, बैंकले मुद्धति निक्षेप धितोमा ८ करोड २४ लाख र व्यक्तिगत सम्पत्ति धितोमा २ अर्ब ९३ करोड रुपैयाँ कर्जा दिएको छ। बैंकले कूल कर्जाको ९७.२७ प्रतिशत व्यक्तिगत सम्पत्ति धितोमा कर्जा दिएको छ। राष्ट्र बैंकको टिमले कर्जा असुली नभएर व्यक्तिगत सम्पत्ति लिलाम तथा बिक्री गरेर कर्जा उठाएर निक्षेपकर्ताको पैसा फिर्ता गर्ने पाटोसमेत छ।