काठमाडौं। नेपालका लागि चिनियाँ विद्युतीय ब्राण्ड बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पर्यटकीय नगरी पोखरामा आफूले भित्र्याएको नयाँ गाडी एम-६ सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो।
साइमेक्स इंकले पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलको अवसरमा बिवाईडीको नयाँ मोडल एम-६ सार्वजनिक गर्ने र काठमाडौंबाट सोही गाडीमा टेष्ट ड्राइभ गर्दै लैजाने कार्यक्रम तय भएको थियो। उक्त कार्यक्रममा म आफैँ जाने योजना रहेकाले पुस ९ गते (सोमबार) बिहानै म नक्सालस्थिति बिवाईडी शोरुममा पुगेँ।
बिवाईडीले भर्खरै भित्र्याएको नयाँ गाडीमा यात्रा गर्न पाउने भएकाले म केही उत्साहित थिएँ। यसै पनि नेपाल तथा विश्वभर बिवाईडीले राम्रो लोकप्रियता कमाइरहेको अवस्थामा सोही ब्राण्डको गाडीमा लामो यात्रा गर्न पाउनु मेरा लागि खुसीको कुरा थियो।
पोखरा यात्राका लागि म नक्सालमा करिब साढे सात बजे पुगेँ। केही तयारी पूरा गरेपछि साढे आठ बजे बिवाईडी एम-६ मा चढेर यात्राका लागि निस्कियौँ। उक्त गाडीमा चालकसहित पाँच जना थियौँ। यद्यपि, गाडीको सिटर क्षमता सात थियो।
गाडीमा चढ्नसाथ मैले स्क्रिनतर्फ आँखा लगाएँ। चार्ज ९६ प्रतिशत थियो। विद्युतीय सवारीमा चढेर पोखरासम्मको यात्रा गर्नु मेरा लागि पहिलोपटक थियो। अझ भनौँ- अटो क्षेत्रमा बढी नै चासो राख्ने भएकाले यो यात्रा मेरा लागि विशेष थियो। नक्साल शोरुमबाट पोखराको यात्रामा निस्किन लाग्दा गाडीमा साइलेन्सर बज्यो।
जसले हामीलाई सिट बेल्ट लगाउन निर्देश गरिरहेको थियो। मेरा लागि यो फिचर नौलो नभए पनि राम्रो लाग्यो। यात्रुलाई सुरक्षित राख्नका लागि सिट बेल्ट जरुरी भएकाले अटोमेटिक गाडीले थाहा पाउने फिचर आफैमा एड्भान्स पनि हो।
हामी नक्साल बिवाईडी शोरुमबाट गैरीधारा, महाराजगञ्ज हुँदै टोखाको बाटो लाग्यौँ। महाराजगञ्जबाट टोखातर्फ जाँदा सँगै गएका अन्य बिवाईडी गाडी र अन्य गाडीहरूलाई पछि पार्दै अघि बढ्यौँ। अर्को गाडीलाई उछिन्ने क्रममा फेरि साइलेन्सर बज्यो। हाम्रा लागि एम-६ को टेष्ट ड्राइभ पहिलो भएकाले साइलेन्सर किन बज्यो थाहा भएन। सोचेँ- यो साउण्ड घुम्तीले गर्दा आएको हो। तर, मैले चालकसँग जिज्ञाशा राखेँ- जसको जवाफ घुम्ती भएर नभई ओभरट्याग गरेकाले आएको भने।
पोखराका लागि १७ वटा बिवाईडी एम-६ सँगै निस्किएकाले बाटोमा लाइन बिवाईडी एम-६ देखिएको थियो। यस कारण धेरै मानिस अचम्म परेका थिए। टोखाको बाटो जाँदै गर्दा कतै जाम, कतै खाल्डाखुल्डी थियो। गाडी भने स्मुथ तरिकामा अगाडि बढिरहेको थियो। टोखा हुँदै नुवाकोट जाने उकालोमा पनि राम्रो पिकअप दिइरहेको थियो।
हामी शिवपुरीको ओरालो छिचोलेर छहरेमा रोकियौँ। अरू गाडीहरू अगाडि गए। टोखा-छहरे बाटो राम्रो थियो। यो बाटोमा गाडी ७०-८० को स्पिडमा हुँइकिएको थियो। त्यसपछि गल्छी हुँदै कुरिनटार निस्कियौँ।

धादिङ पुगेपछि बाटो निर्माणको काम भइरहेकाले हामीलाई ट्राफिकले फर्काइदियो। हामीले भित्री गाउँको बाटो हुँदै हिँड्यौँ। त्यो बाटो निकै उकालो र कच्ची थियो। बाटो कठिन भए पनि यात्रा रमाइलो भइरहेको थियो।
बिवाईडी एम-६ मा १७० एमएमको ग्राउण्ड क्लियरेन्स छ। नेपाली सडकका लागि यत्तिको ग्राउण्ड क्लियरेन्स राम्रो मानिन्छ। तर, बाटोमा ठूला ढुङ्गा र खाल्डा भएकाले गाडी ठोक्किँएको थियो। हामीलाई लाग्यो- ग्राउण्ड क्लियरेन्स अलि कम भएर हो कि।
कठिन बाटोमा आरामदायी यात्रा गर्दै साँझ ५ बजे होटल बाह्रसिङ्गेमा खाना खान रोकियौँ। एकछिन आराम गरेपछि पोखराको यात्रा फेरि अगाडि बढ्यो। पुसको महिनामा चाँडै नै रात पर्यो। लामो यात्रा खासै नगरेकाले केही कठिन भइरहेको थियो, मलाई।
यात्रामा गाडीको फिचरबारे पनि चर्चा गर्यौँ। फराकिलो सनरुफले प्यासिञ्जर सिटमा बस्नेलाई फरक महसुस गराउने रहेछ। काठमाडौंदेखि पोखरासम्मको धेरै ठाउँमा बाटो बिग्रेकाले बिवाईडी एम-६ अफरोडका लागि पनि उपयुक्त हुने रहेछ भन्ने लाग्यो।
गाडीमा ७१.८ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको मोटर दिइएको छ। जसले गर्दा ४२० देखि ५३० किलोमिटसम्म रेञ्ज दिने कम्पनीको दाबी छ। कम्पनीले सुरुवाती मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको यो गाडी 'मल्टी प्रपोस' भेहिकल हो।
पानारोमिक ग्लास रुफ र ५८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको कारण धेरैको आवश्यकता यसले पूरा गर्ने कम्पनीको दाबी छ। समग्रमा काठमाडौंदेखि पोखरासम्मको यात्रा गर्दा आकर्षक फिचर पिकअप पावर लाग्यो।
कम्पनीले दाबी गरेअनुसार गाडीको पर्फमेन्स साच्चै राम्रो भएको निष्कर्षसहित सेड्युलअनुसारका अन्य कार्यक्रममा हामी व्यस्त भयौँ। यात्राको भोलिपल्ट (मंगलबार) निर्धारित सूचीअनुसार पोखरामा बिवाईडीको एम-६ गाडी लञ्च कार्यक्रम अघि बढ्यो।
साइमेक्स इंकले पोखरा फेवाताल किनाराको पामे फाँटमा 'हट एयर बेलुन'को अनौठो शैलीमा गाडी सार्वजनिक गरेको थियो। सार्वजनिक स्थलमा १०० वटा एउटै प्रकारका गाडी राखिएको थियो। गाडी सार्वजनिक कार्यक्रमपछि कम्पनीले सबै गाडी आफ्ना ग्राहकलाई हस्तन्तरण गर्न सफल भयो।
