क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकारले नेपाल बिमा प्राधिकरणको नेतृत्व छान्न समिति बनाएको छ। पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो। समितिमा अर्थसचिव रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन्। प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालको नागरिकतामा कैफियत फेला परेसँगै पद गुमेको छ।
साई स्वागत सहकारीका पूर्वअध्यक्ष भरतमणि जंगम र पूर्वकोषाध्यक्ष लुमन दाहाल बचतकर्ताको रकम हिनामिना आरोपमा पक्राउ परेका छन्। काठमाडौं महानगरको अध्ययन प्रतिवेदनका आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी परिसरले जंगम र दाहाललाई पुस ७ गते बिजुलीबजारबाट पक्राउ गरेको हो। महानगरले गत मंसिर १८ मा सबै सञ्चालकविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो।
सहकारी ठगी प्रकरणमा राजनीतिक ‘नेक्सस’को जालो फैलिएसँगै पीडित बचतकर्तालाई न्याय दिलाउन सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने निर्णय गरेको छ। पुस ९ को मन्त्रिपरिषद् बैठकले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरेसँगै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको बाटो खुलेको हो। सहकारी नियमन प्राधिकरण गठन अध्यादेशमा राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गरेसँगै यसअघि क्रियाशील राष्ट्रिय सहकारी विकास बोर्ड स्वतः खारेज हुनेछ। नयाँ अध्यादेशमा सहकारी संस्थालाई बैंकजस्तै ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरिने व्यवस्था छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरण शक्तिशाली स्वायत्त निकायको रूपमा रहनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलियालाई उपकुलपतिमा नियुक्ति गरेका हुन्। छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन्।
चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। सहकारी ठगी आरोप लागेका उनलाई पुस ८ गते प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन्। उनले सहकारीका कोषाध्यक्ष हुँदा बचत हिनामिना गरेका थिए।
भारतलाई आर्थिक उदारीकरण भित्र्याएर विश्वकै ठूलोमध्येको अर्थतन्त्र बनाउन भूमिका खेलेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। सन् १९९० दशक सुरुमा भारतमा आर्थिक उदारीकरण भित्र्याउने स्व.सिंहको पुस ११ गते नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको हो। स्व. सिंहको पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो। दुईपटक प्रधानमन्त्री बनेका स्व. सिंहले भारतीय केन्द्रीय बैंंकको गभर्नरको रुपमा सेवा गरेका थिए भने अमेरिकासँग ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर गरेपछि भारतलाई बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न भूमिका खेलेको भन्दै सम्झिइन्छ।
सुरक्षित कारोबार ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसम्मत पारित भएको छ। प्रतिनिधिसभाअन्तर्गत अर्थसमिति बैठकले पुस ११ मा उक्त विधेयक सर्वसम्मत पारित गरेको हो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभा अर्थ समिति आएको सुरक्षित कारोबार ऐन केही संशोधनसहित पारित भएको छ।
यो साता सेयर बजार ३३.८९ अंकले बढेको छ। गत साताको अन्तिम कारोबार दिन अर्थात् पुस ४ गते २५९६.८२ बिन्दुमा रहेको सेयरबजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साताको चार कारोबार दिनमा एक दिन घटेर तीन दिन बढ्दा ३३.८९ अंकले वृद्धि भई २६३०.७१ बिन्दुमा रोकिएको हो। गत साता नेप्से ८५.४७ अंकले घटेको थियो। यस साता सेयर बजारमा कुल १९ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो साता नेप्सेमा कुल १८ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्दै आएको विमान ग्राउन्डेड भएपछि उडान शून्य भएको छ। नेवानिका दुई ट्वीनअटरमध्ये एउटा जेठमा र अर्को पुस ७ गतेदेखि ग्राउन्डेड हुँदा आन्तरिक उडान ठप्प भएको हो। निगम प्रवक्ता रमेश पौडेलले विमानमा प्राविधिक समस्या आएकाले केही समयलाई ग्राउन्डेड भएको जानकारी दिए।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डमा निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपासको ब्रेक थ्रु भएको छ। तेस्रो र पहिलो बाइपासको ब्रेक थ्रु भदौ तथा असोजमा भएकोमा दोस्रो बाइपासको ब्रेक थ्रु पुस ७ गते भएको हो। सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत कुल तीनमध्ये सबैको ब्रेक थ्रु भएको छ भने मुख्य टनेलको ब्रेक थ्रु हुन बाँकी छ।