काठमाडौं । नेपालीको किनमेल ‘कल्चर’मा बिस्तारै परिवर्तन आउन थालेको छ । काठमाडौं उपत्यका र बाहिर गरी सयौं मार्ट तथा डिपार्टमेन्ट स्टोरहरु खुलेका छन ।
बढ्दो शहरीकरणसंगै एउटै छानामुनी उपभोक्तालाई सबै वस्तु तथा सेवा उपलब्ध हुने भएकाले ग्राहको रोजाइमा डिपार्टमेन्ट स्टोर पर्न थालेका हुन । कारोबार बढदै गएको डिपार्टमेन्टका सञ्चालकहरु बताउछन ।
भाटभटेनी सुुपर मार्केटले शाखा विस्तार गरिरहेको छ । राजधानीमा मात्रै भाटभटेनीको झण्डै एक दर्जन डिपार्टमेन्ट स्टोर सञ्चालनमा छन । यस्तै सेलवेज, विशाल बजार, लविम र विगमार्ट लगायत दर्जनौ डिपार्टमेन्ट स्टोरहरु सञ्चालनमा छन ।
विदेशमा जाने युवापुस्ताका कारण किनमेलमा परिवतर्न आएको लाजिम्पाटमा रहेको बिग मार्टका बिक्री प्रवन्धक गणेश प्रजापतिले बताए । ‘विदेशमा सिक्ने र नेपालमा आएका बेला लागू गर्ने प्रवृत्ति बढ्दै गएको छ’ उनले भने, ‘त्यही देखेर स्वदेशमै बस्ने नेपालीको पनि किनमेल संस्कृति फेरिएको हो ।’
युरोप, अमेरिका, अष्ट्रेलिया, खाडी र मलेशियालगायत मुलुकमा काम गरेर फर्केका युवाहरुको रोजाइ अहिले डिपार्टमेन्ट स्टोरहरु परेका छन । डिपार्टमेन्ट स्टोर तथा सुपरमार्केटमा सम्पूर्ण सामग्री एकै ठाउँमा पाइने भएकाले पनि उनीहरुको रोजाई पर्न गएको हो । एक समयमा सहरी क्षेत्रमा धनी तथा कुलीन परिवारले मात्र सुपर मार्केटमा जाने गरेकामा पछिल्लो समयमा मध्यमवर्गको आकर्षण त्यतातिर हुन थालेको हो ।
सुपरमार्केट तथा मार्टहरु गुणस्तरीय र ब्राण्डेड सामग्री पाउने भएकाले यहाँ आउने ग्राहकको सङ्ख्या वार्षिक ३० प्रतिशतले बृद्धि भएको प्रवन्धक प्रजापतिले बताए ।
उनले भने ‘सुपरमार्केट तथा मार्टले ग्राहकलाई विभिन्न अफर, सामाग्रीमा ग्यारेण्टी दिने, मुल्यमा बार्गेनिङ नहुने र गुणस्तरीय सामाग्री बिक्रि गर्ने हुदाँ ग्राहकको आकर्षण बढ्दै आएको हो ।’ यस्तै एउटै छानामुनी सबै सामान पाइने, सामान किन्न नगद बोक्नु नपर्ने डेविट वा क्रेडिट कार्डबाट भुक्तानी गर्न पाइने सुविधा सुपर मार्केटहरुमा छ ।
भाटभटेनी सुपर स्टोरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडल बढ्दो डिपार्टमेन्टमा गएर किनमेल गर्ने कल्चरले साना किराना पसलहरु विस्तारै घट्दै जाने बताउँछन । राज्यले पनि साना किराना पसल भन्दा पनि डिपाटमेन्ट स्टोर तथा सुपरमार्केटलाई प्राथमिकता दिएकाले सुपर मार्केटमा ग्राहकको आकर्षण बढेको उनको भनाई छ ।
पौडेलका अनुसार भाटभटेनी सुपरमार्केटमा वार्षिक २५ प्रतिशतले व्यापार वृद्धि हुँदै गएको छ । उनले भने ‘अहिलेका पाय उपभोक्ताहरु व्यस्त हुने भएकाले सबै सामान एकै ठाउँमा पाउने र समयको पनि बचत हुने भएकाले सुपरमार्केटमा नै किनमेल गर्छन ।’भाटभटेनी सुपरमार्केट काठमाडौंमा ११ स्थानमा र उपत्यका बाहिर ६ गरी १७ ओटा सञ्चालनमा रहेको पौडेलले बताए ।
उपभोक्ताको रोजाइ घर नजिकैको पसल भएपनि पछिल्लो समय सबै मानिसहरुसँग सवारी साधन पनि भएकाले घरबाट टाढा गएर भाटभटेनीलगायत अन्य डिपार्टमेन्टल स्टोरमा समान किन्ने गरेको पौडेललेको भनाइ रहेको छ ।
सिटी सेन्टरमा रहेको बिग मार्टमा पहिलेको भन्दा अहिले ग्राहकको उपस्थिति बाक्लो हुने गरेको छ । यस मार्टमा विशेषगरी फलफूल, दैनिक आवश्यकताका सामाग्रीहरु, जनावरको खाना,तरकारी,कस्मेटिक, गिफ्टका सामानलगायत सामग्री किन्न आउने ग्राहक बढी छन ।
मार्टमा गुणस्तरहीन सामग्री पाइने सम्भावना नभएकाले पनि यसप्रति ग्राहकहरूको आकर्षण बढेको बिग मार्टका प्रबन्धक अन्तिम रञ्जितले बताए । मार्ट तथा सुपरमार्केटप्रति ग्राहकको बढ्दो आकर्षणसँगै मार्टको सङख्या पनि बढेको छ । अहिले काठमाडौं उपत्यकामा मात्र ५० ओटा मार्ट रहेको बिगमार्टका सेल्स म्यानेजर प्रजापतिले जानकारी दिए ।
सामान्यतया एउटा मार्ट सञ्चालनका लागि २ करोड रुपैयाँ भन्दा बढी लगानी हुने बताइन्छ । यसरी हेर्दा काठमाडौं उपत्यकामा मात्र मार्ट तथा सुपरमार्केट व्यवसायमा झण्डै ४० करोड रुपैयाँ लगानी भएको देखिन्छ । यस्ता मार्ट तथा सुपरमार्केटले समयसमयमा विभिन्न योजना ल्याउने गरेका छन ।
एक वर्ष अघि स्थापना भएको पुतलीसडकस्थित रोबिन्स मार्ट सुपरमार्केटमा दैनिक ३ लाख रुपैयाँबराबरको व्यवसाय हुने मार्टका सञ्चालन प्रवन्धक प्रवीण प्रधानले जानकारी दिए । मार्टमा ग्राहकसेवालाई बढी ध्यान दिइने हुँदा उनीहरूको आकर्षण बढेको उनको भनाइ छ । सामग्री खरीदका लागि मार्ट तथा सुपरमार्केट सुरक्षित र भरपर्दो हुन्छ । उनले भने ‘बढ्दो चेतनासँगै मार्टमा आउने ग्राहकमा पनि वृद्धि भएको छ ।’