काठमाडौँ। बहुचर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ। २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलले अझै नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न नसक्दा पर्यटन व्यवसायी निरन्तर प्रयासरत छन्। सम्बन्धित निकायसँगको छलफल र प्रवर्द्धनात्मक उडानमार्फत विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न पहल भइरहेका छन्।
नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स एशोसिएशन (नाट्टा) गण्डकीले नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग छलफल गर्दै प्रवर्द्धनात्मक उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि सक्रिय प्रयास गरिरहेको छ।
यसै सन्दर्भमा, ड्रागन बोट रेसमा सहभागी हुन पुस ११ गते चीनको छेन्दुबाट चार्टर उडानमार्फत सिचुवान एयरलाइन्सको विमान पोखरा आइपुग्यो। विमानमा १२९ जना खेलाडीहरू थिए। नाट्टाको पहलमा सोही विमान पोखराबाट समान संख्याका यात्रु लिएर प्रवर्द्धनात्मक कार्यक्रमका लागि काठमाडौं पुगेको थियो।
यो उडानले जहाज लोड बोकेर पोखरा विमानस्थलमा उडान र अवतरण गर्न नसकिने भन्ने भ्रम तोड्न सफल भएको छ। विमानले पूर्ण क्षमतामा उडान र अवतरण गरेपछि विमानस्थल सुरक्षित रहेको सन्देश प्रवर्द्धनात्मक उडानमार्फत दिन सफल भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट उडान र अवतरणमा कुनै समस्या नरहेको जानकारी गराए। उनले भने, ‘पोखरा विमानस्थलले एयरबस जस्ता ठूला जहाज सहजै सञ्चालन गर्न सक्छ भन्ने प्रवर्द्धनात्मक उडानले पुष्टि गरेको छ, अब यो पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ।’
महाप्रबन्धक अधिकारीले विमानस्थलको प्रभावकारी उपयोगका लागि सरकारी नीतिगत सहयोग र निजी क्षेत्रको अग्रसरताको खाँचो रहेको औंल्याएका थिए। उनले थपे, ‘सरकारले गरेको ठूलो लगानीलाई वास्तविक लाभमा बदल्न सबै पक्षले साझा प्रयास गर्नुपर्छ।’
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्रमा ठूलो समस्या परेको बताए। उनले यस विषयमा क्यानका पदाधिकारी र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए।
पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीले यो विमानस्थललाई नियमित उडानका लागि सञ्चालन गर्न राज्यको दायित्व रहेको बताए। उनले विमानस्थलबारे गलत र भ्रमपूर्ण कुरा फैलाउने काम सभ्य नागरिकले गर्न नहुने भन्दै सबै पक्षको सामूहिक सहकार्य र समन्वयको खाँचो रहेको बताएका थिए।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नियमित उडानका लागि प्रयास भइरहेकाले छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे। चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भएको यो विमानस्थल नेपाल–चीन सहकार्यको उदाहरण मानिन्छ।
करिब २२ अर्ब रुपैयाँ लागतमा निर्मित यस विमानस्थलको निर्माण चाइना सीएएमसी इञ्जिनियरिङ कम्पनीले गरेको हो। २.४ किलोमिटर लामो रनवे रहेको यो विमानस्थलले वाइडबडीजस्ता ठूला जहाज सहजै अवतरण गर्न सक्षम छ।
आधुनिक नेभिगेसन प्रणाली, अत्याधुनिक टर्मिनल भवन र दैनिक २० हजार यात्रुलाई सेवा दिने क्षमताले यो विमानस्थललाई महत्वपूर्ण बनाएको छ। गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवस्थित यो विमानस्थल अन्नपूर्ण सर्किट, मुक्तिनाथ, र कैलाश मानसरोवरजस्ता विश्वप्रसिद्ध गन्तव्यको प्रवेशद्वार मानिन्छ।