काठमाडौँ। हुम्लाको सर्केगाड गाउँपालिका १ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्न चर्को खर्च गर्नु पर्ने बाध्यता भोग्दै आएका छन्। अनुदानमा प्राप्त हुने नुन किन्नलाई उनीहरुले पाँच सयसम्म खर्च गरिरहेका छन्।
नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महंगो गाडी भाडा तिरेर नुन किन्न जानु परेको छ। नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताउँछन्।
केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उनले बताए। उनले भने, ‘गाउँभन्दा पालिका केन्द्र टाढा छ, अनुदानमा नौ रुपैयाँ पर्ने नुन लिन पच्चीस सय खर्च लाग्छ।’
साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ। गाउँपालिका केन्द्र टाढा रहेकाले पालिकाबाट पाउने सेवा सुविधाबाट बञ्चित भएका छन्। वडा कार्यालय पुग्नसमेत ३ घण्टा पैदल हिँड्नुपर्ने बाध्याता रहेको रावतले सुनाए।
तुम्च गाउँका नागरिकले नुन सर्केगाड नपुर्याइ बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरूलाई सहज र खर्च पनि बच्ने उनीहरूको भनाइ छ। साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चार वटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताउँछन्।
गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा १८ सय क्विइण्टल नुन पुर्याइने छ। सर्केगाडका लागि ५००, चंखेली ४००, अदानचुली ५००, ताँजकोट गाउँपालिकाका लागि ४०० क्विइण्टल नुन ढुवानी हुने भएको छ। अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ।