काठमाडौं। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला अदालत कास्कीमा दोस्रो दिन पनि बयान जारी छ। रविसँग बिहीबारदेखि बयान लिन थालिए पनि नसकिएपछि दाेस्राे शुक्रबार पनि साेधपुछ भइरहेकाे हाे।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको बताएका हुन्।
सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाईको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो।पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुनेछ।
सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाई, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा हाजिर गराइएको थियो। सबै प्रतिवादीको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ।
गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ।
यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।