काठमाडौँ। गुण ग्रुपले निर्माण गरिरहेको पाँचतारे होटल 'द म्यासिफ'को व्यवस्थापन विश्वभर लक्जरी होटल व्यवस्थापन गर्दै आएको फ्रान्सको रोयल टुलिपले सम्हाल्ने भएको छ।
सन् २०२५ को जनवरीभित्रै सञ्चालनमा ल्याउने तयारीका साथ ललितपुरको ग्वार्काेमा पाँचतारे होटल म्यासिफको व्यवस्थापनसम्बन्धी सम्झौता हुने भएको हो। सम्झौता जनवरी १ मा हुने निश्चित भएको छ।
युरोपकै दोस्राे ठूलो तथा विश्वबजारमा ११ वटा विभिन्न ब्राण्डसहित फैलिएको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्राण्ड रोयल टुलिपका तर्फबाट लुभ्र होटल्स भारतका निर्देशक अजय बकाया र द म्यासिफ होटलका कार्यकारी अध्यक्ष राजेन्द्र शाक्यले सम्झौतामा हस्ताक्षर गर्नेछन्।
हाउजिङ, सपिङ मल, एयरलाइन्स, मिडिया उद्योग क्षेत्रमा लगानी विस्तार गरिरहेको यो समूहको होटल पहिलो हो। ६ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको होटलमा ३०२ कोठा रहेका छन्। होटलमा प्रेसिडेण्टल, सुइट, डिलक्स र स्ट्यान्डर्ड लेभलका कोठा रहनेछन्। हरेक कोठामा नेपालीपनसँगै लक्जरी हुनेछ।
१६ रोपनी क्षेत्रफलमा फैलिएको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नजिक र काठमाडौं उपत्यकाकाे चक्रपथ छेउमा अवस्थित छ। होटल पाटन दरबार स्क्वायरबाट दुई किलोमिटर दूरीमा छ। होटलमा स्विमिङ पुल, हेल्थ क्लबसहित बैंक्युट हल हुनेछ।
सन् २०१८ अगष्टदेखि सुरु भएको होटल निर्माणको काम कोरोना महामारीलगायतका कारण सम्पन्नमा ढिलाइ भएको थियो। भ्रमण वर्ष २०२० मा सञ्चालनमा ल्याउने तयारी गरेर निर्माण गरिएको भए पनि कोभिड-१९ पछि धकेलिँदै गएको थियो।
अहिले पनि होटल पूर्ण रुपमा सञ्चालनमा हुने छैन। ग्रुपका एक अधिकारीका अनुसार चरणबद्ध गरेर होटल सञ्चालनमा आउनेछ। बैंक्युट हल र केही कोठा पहिलो चरणमा सञ्चालनमा आउने र विस्तारै पूर्ण रुपमा सञ्चालन गर्ने योजना ग्रुपको छ।
पछिल्लो समय नेपालमा धनाढ्य पर्यटकको आगमन बढिरहेका बेला फ्रान्सको विश्वप्रसिद्ध होटल ग्रुप रोयल टुलिपको प्रवेशले काठमाडौँमा पर्यटकको बसाइँ लम्बिने विश्वास व्यवसायीको छ।
रोयल टुलिपको नेपाल प्रवेश यो दोस्रो हो। यसअघि चितवनको सौराहामा रोयल टुलिप रिसोर्ट सञ्चालनको तयारीमा छ। यो रिसोर्ट पनि २०२५ को जनवरीभित्रै सञ्चालनमा आउनेछ।