काठमाडौँ। सन् १९९० को दशकको सुरुमा भारतको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक थिए, पूर्वप्रधानमन्त्री मनमोहन सिंह। उनको ९२ वर्षको उमेरमा निधन भएपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीबार साँझ नयाँ दिल्लीको अस्पतालमा निधन भएको हो। उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ।
‘दिवङ्गतप्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिन राजकीय शोक मनाइने निर्णय गरिएको छ,’ भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ। शोक जनवरी १ सम्म हुने भएको हो।
‘स्वर्गीय डा. मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय झण्डा आधा झुकाइने छ।
अष्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंहप्रति सम्मान प्रकट गर्न हातमा कालो ब्याण्ड लिएर मैदानमा पुगेको थियो। राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा हुन सकेको छैन।
सरल टेक्नोर्क्य्राट
सिंह एक सरल टेक्नोर्क्य्राट थिए। उनलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो। तर, उनको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भएको थियो।
सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँमा जिन्मएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गरेका थिए। राष्ट्रको सर्वोच्च पद लिनुअघि उनी कहिल्यै निर्वाचित पदमा बसेनन्।
उनले क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाएका थिए। उनले वरिष्ठ निजामति सेवाका विभिन्न पदमा काम गरे। केन्द्रीय बैंकको गभर्नरका रूपमा समेत सेवा गरेका उनी संयुक्त राष्ट्रसंघ जस्ता विश्वव्यापी एजेन्सीहरूको विभिन्न पदमा बसेर जिम्मेवारी सम्हालेका थिए।
सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पी.भी. नरसिंह रावले उनलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय संकटबाट देशलाई उकास्न जिम्मेवारी दिएका थिए।
आफ्नो पहिलो कार्यकालमा सिंहले ९ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गरे। यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो।
उनले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा समेत हस्ताक्षर गरेका थिए। उनले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गर्ने बताएका थिए।
भारतको आर्थिक सुधारमा ऐतिहासिक काम गरेका सिंह प्रधानमन्त्री बनेपछि निजी जीवन बिताउँदै आएका थिए। सरल जीवन व्यतित गरेका यिनै भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनले विश्वभरबाट श्रद्धाञ्जली आउने क्रम जारी छ।