काठमाडौँ। ‘समस्या ग्रस्त’ घोषणा भएपछि कर्णाली डेभलपमेण्ट बैंकको सेयर कारोबार रोक्का भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्र लेख्दै बैंकको सेयर कारोबार रोक्न पत्राचार गरेको हो।
योसँगै नेप्सेले बिहीबारदेखि कम्पनीको दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको हो। सेबोनले नेप्सेलाई पठाएको पत्रमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको पुस १० गतको पत्रानुसार सूचीकृत संगठित संस्था कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई ‘समस्या ग्रस्त’ संस्था घोषणा गरिएको तथा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएकाले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि तत्काल उक्त सूचीकृत संगठित संस्थाको धितोपत्र कारोवार स्थगन गर्नु।’
साथै, सेबोनले यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गत उक्त कर्णाली डेभलपमेण्ट बैंकलाई समस्या ग्रस्त घोषणा गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेण्ट बैंकले नियमनकारी निकायद्वारा तोकिएका नियम र निर्देशिका पालना गर्न नसकेको र न्यूनतम पुँजीको अनुपातसमेत पूरा गर्न असफल भएकाले यस्तो निर्णय लिइएको हो। बैंकको वित्तीय स्थिति कमजोर भई नियमनकारी मापदण्ड नपुगेपछि ‘समस्या ग्रस्त’ घोषणा गरिएको हो।
राष्ट्र बैंकले यसअघि उक्त बैंकलाई पटक पटक कमजोर वित्तीय अवस्थाबारे सुधार गर्न निर्देशन दिएको थियो। तर, बैंकले त्यसमा अपेक्षित सुधार गर्न नसकेको पाइएको छ। बैंकले तोकिएको न्यूनतम पुँजीको अनुपात पूरा गर्न नसक्नु, कर्जाको अनियमितता र वित्तीय प्रशासनमा कमजोरीका कारणले समस्या ग्रस्त घोषणा गरिएको हो।
समस्या ग्रस्त घोषणा भएसँगै बैंकका सञ्चालक समितिका सदस्य, उच्च व्यवस्थापन टोलीका कर्मचारी र कार्यकारी अधिकारीहरूको काम, कर्तव्य र अधिकार निलम्बनमा राखिएका छन्।