गण्डकी। आर्थिक कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन्। यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन्।
धवलागिरि अटोमोबाइल्स व्यवसायी संघ, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा संघमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन्।
संघका अध्यक्ष शिवशंकर शाहले सुरुमा ६७ वटा फर्म आबद्ध भएर संघ स्थापना गरिएकामा हाल ४८ फर्म मात्र सञ्चालनमा छन्। 'अटोमोबाइलका १९ वटा व्यवसाय बन्द हुँदा प्राविधिक र श्रमिकले पनि रोजगारी गुमाएका छन्,' उनले भने, 'पहिले करिब पाँच सय जना यस क्षेत्रमा कार्यरत थिए, अहिले जम्मा २२५ जनाले मात्र रोजगारी पाएका छन्।'
खस्कँदो व्यापारले व्यवसायी पलायन हुने क्रम अझै नरोकिएको अध्यक्ष शाहले बताए। अटोमोबाइल क्षेत्रका व्यवसायीको संरक्षणका लागि राज्यले उपयुक्त नीति र कार्यक्रम ल्याउनुपर्ने उनको माग छ।
व्यवसायी पलायन हुने अवस्था रहेकाले कुनै दिन अटोमोबाइल व्यवसाय संकटमा पर्ने धेरैको भनाइ छ। स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवा पलायनलाई कम गर्न थोरै भए पनि योगदान गरेको अटोमोबाइल व्यवसायीको हितमा स्थानीय तहले पनि आवश्यक सहयोग गर्नुपर्ने अध्यक्ष शाहको भनाइ छ।
बुधबार संघले सदरमुकाममा सञ्चालित ग्यारेज र वर्कशपलाई सरसफाइका लागि डस्टबिन वितरण गर्ने कार्यक्रममा धेरैजसो व्यवसायीले गुनासो गरेका थिए ।
त्यस अवसरमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले ‘सफा बागलुङ नगर’को अभियानलाई सघाउन नगरवासीसमक्ष आग्रह गरे। उनले व्यवसायीका समस्याबारे आफूहरूको ध्यानाकर्षण भएको बताए।