काठमाडौँ। नेपाल एप्लाइड म्याथेमेटिक्स एण्ड इन्फरमेटिक्स इन्स्टिच्युट (एनएएएमआई)ले बुधबार एनुअल नेपाल एआई स्कूल (एनएआईएस)को आयोजना गर्ने घोषणा गरेको छ।
११ दिनसम्म चल्ने यो शैक्षिक कार्यक्रम पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ। यो प्रतिष्ठित कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनमा केन्द्रित छ।
संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने एएनएआईएस दक्षिण एसियाकै सबैभन्दा ठूलो र पृथक मञ्च हो।
एनएएएमआईआईका अनुसार यो आधारभूतदेखि आधुनिक विचार र विधिसम्मका विषय तथा प्रयोगलाई समेट्ने छ।
कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजना हुँदैछ। यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्नेहरू सहभागी हुन सक्नेछन्। विगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन्।
यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेण्ट, एशिया फाउण्डेसन, डाटा फर डेभलपमेण्ट इन नेपाललगायतका साझेदारको साझेदारी प्राप्त भएको छ।