काठमाडौं। देशमा रोजगारी नहुँदा विदेश पस्ने युवायुवतीको संख्या बढिरहेको छ। गत वर्षको मंसिरमा भन्दा चालू मंसिरमा विदेश रोजगारीमा जाने नेपालीको संख्या बढेको विवरण वैदेशिक रोजगारी विभागले आज सार्वजनिक गरेको हो।
विभागका अनुसार चालू आर्थिक वर्षको मंसिरमा ८४ हजार २२६ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ७५ हजार ५५५ पुरुष र ८ हजार ६७१ जना महिला छन्।
यो संख्या गत वर्ष मंसिरको भन्दा १६ हजार २५ ले बढी हो। गत आव मंसिरमा वैदेशिक रोजगारीका लागि ६८ हजार २०१ जना नेपालीले श्रम स्वीकृति लिएको विवरण विभागसँग छ।
तथ्यांकअनुसार चालू आवको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्।
विभागका अनुसार विदेश रोजगारीका लागि मंसिरमा सबैभन्दा बढी संख्याका नेपालीले संयुक्त अरब इमिरेटेस् (यूएई)का लागि श्रम स्वीकृति लिएका छन्।
युएईका लागि २४ हजार ७६९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। साउदीका लागि १८ हजार ११८, कतारका लागि १४ हजार ८४४, कुवेतका लागि ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन्।
मुलुकभित्र रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा बर्सेनि ठूलो संख्यामा युवा पुस्ता बिदेसिने क्रम बढेको हो। अध्ययन र रोजगारी दुवैका लागि नेपाली युवायुवतीले देश छाड्ने गरेको तथ्यांकले देखाउँछ। यो अवधिमा १०० देशमा काम गर्न नेपालीले श्रम स्वीकृति लिएका छन्।
मलेसिया रोजगारी बन्द भए पनि म्यानपावर कम्पनीमार्फत नयाँ श्रम स्वीकृति लिएर चार जना मात्रै त्यहाँ पुगेका छन्। व्यक्तिगत भिसामार्फत २२ जना नयाँ श्रम स्वीकृति लिएर मलेसिया पुगेको विभागको तथ्यांकले देखाएको छ। मलेसिया रोजगारी बन्द भए पनि पुनः श्रम स्वीकृति लिनेको संख्या ४ हजार ४६९ जना रहेको छ।
विभागका अनुसार चालू आवको मंसिरसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३ लाख १९ हजार पुगेको छ। जबकि आवको सोही अवधिमा २ लाख ७८ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए।