काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंबासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन्। मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घन्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन्।
‘नागरिकल महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ’, उनले भने,, ‘काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौं।’
मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका संघर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिए। उनले भने, ‘काठमाडौँमा मेलम्चीको पानी ल्याउने समयमा हेलम्बुका नागरिकसँग विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्छ।’
जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गरे। साथै आवश्यकताअनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उनले बताए।
गत असोज ११ गतेदेखि आएको बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री यादवले निर्देशन दिए। उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन भनिएको उनको भनाइ छ।
उनले भने, ‘खानेपानीका चुहावट भएका पाइप मर्मत गरौँ, अत्यावश्यक रूपमा रहेको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याइनुपर्छ।’