काठमाडौं। तेञ्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशनको (खुल्ला आरोहण प्रतियोगिता) पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना हुने भएको छ। प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो।
यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता आगामी जनवरी २९ र ३० तारिख (माघ १६ र १७ गते)का दिन हुनेछ। क्वली राउण्डका लागि उपयुक्त ठाउँ छिट्टै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पाञ्जी एडभेञ्चर हबमा गरिने शेर्पाले बताए। उक्त प्रतियोगिता दुई चरणमा हुनेछ।
प्रतियोगिताको संयोजकसमेत रहेका संस्थापक अध्यक्ष शेर्पाले पर्वतारोहण खेलको प्रबर्द्धन गर्ने उद्देश्यसहित तेञ्जिङ नोर्गे शेर्पाको नाममा उक्त प्रतियोगिता गर्न लागेको बताए। उनले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुची राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।
संस्थापक अध्यक्ष शेर्पाका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगतामा पहिलो दिन क्वली राउण्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिने छ। उनले भने, ‘प्रतियोगितामा भाग लिन ५०० लाग्ने छ, प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागिता जनाउन सक्ने छन्।’
कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहाद्र्रता र तेञ्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका सह संयोजक तथा नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेञ्जिङ लामाले बताए। उनले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेञ्जिङ नोर्गे शेर्पाप्रति श्रदासुमन एवं श्रदाञ्जली पनि हो।’
आयोजकका अनुसार प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ। यस पटकको प्रतियोगितामा पुरुषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउने छन्। यसैगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ४५, ३५ र १५ हजार नगद पुरस्कार प्रदान गरिने छ।
नेपाल नेसनल माउण्टेन गाइड एशोसिएसनसले प्रविधिक जिम्मेवारी समाल्ने छ। यूएसएनसीए (यू.एस.नेपाल क्लाइम्बरस एशोसिएसन) र एनएनएमजीए (नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसन)बीच प्रत्येक वर्ष पालैपालो कोडिनेटर हुने गरी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको आयोजकले जनाएको छ।