काठमाडौँ। कफी खेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर मोरङको लेटाङका किसान व्यावसायिक कफी खेतीतर्फ लागेका छन्। लेटाङ नगरपालिका ७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहेका छन्।
शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार विरुवा तयार गरेका छन्। नर्सरीबाट उत्पादित विरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गर्दै आएका छन्।
‘चार वर्षअघि रोपिएका विरुवाले उत्पादन दिन थालेका छन्, यसपटक १० क्विन्टलभन्दा बढी उत्पादन भयो,’ राई भने। कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो ९० का दरले बिक्री हुने गरेको छ ।
‘खाली जमिनमा व्यावसायिक कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ,’ राज एग्रीकल्चर फार्म सञ्चालन गरेका राईले ‘वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ।’
राईले जस्तै सोही वडाका १२० परिवारले कफीको व्यावसायिक खेती गरेका लेटाङ ७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बुले बताउँछन्। जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाई सर्ने क्रम रोकिएको उनको भनाइ थियो।
लेटाङको कफी खेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावती बताउँछन्। नगरले उच्च प्राथमिकतामा कफी खेतीलाई राखेका उनले बताए।
किसानलाई बीउको व्यवस्था, सिचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाए।