धरान। जाडो याम सुरु भएसँगै सुनसरीमा केही महिलाले भक्काको व्यापार सुरु गरेका छन्। जाडोमा भक्का बढी बिक्री हुने भएकाले घर खर्च जुटाउन सजिलो भएको उनीहरूको भनाइ छ।
धरान उपमहानगर १० का दिया राजधामी हरेक दिन साँझ र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको सडकमा पुग्छिन्। उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो। कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गरेर घर खर्च जुटाउने गरेको उनले सुनाइन्।
उनले भक्का प्रतिगोटा २० रुपैयाँका दरले बिक्री गर्दै आएकी छन्। उनले भनिन्, ‘भक्का बिक्रीबाट दैनिक ३ हजार ५०० सम्म आम्दानी हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ।’
उनले हरेक दिन करिब ७०० केजी चामलको पिठोको भक्का बिक्री गर्दै आएकी छन्। उनका अनुसार स्थानीयहरू मर्निङ वाकदेखि भक्का खान झुम्मिन्छन्।
धरान उपमहानगर १७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाए। ‘भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, बिहानको खाजाका लागि यो निकै राम्रो छ,’ उनले भने।
चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ।
धरान उपमहानगर १५ का सीमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाइन्। उनले भने, ‘जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ।’