काठमाडौं। सर्वसाधारणको बचत अनौपचारिक क्षेत्रतर्फ जाने सम्भावना बढेपछि केन्द्रीय बैंकले निक्षेपकर्ताको न्यूनतम ब्याज सुनिश्चित गरेको छ। बैंकहरूले मासिक रुपमा निक्षेपको ब्याजदर परिवर्तन गरी ३ प्रतिशतभन्दा तल कायम गरेपछि राष्ट्र बैंकले यस्ता संस्थालाई ‘स्थायी निक्षेप सुविधा’बाट बञ्चित गराएको हो।
बैंक तथा वित्त कम्पनीहरूले निक्षेपकर्तालाई न्यून ब्याज दिन थालेपछि राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत निक्षेपकर्ताको पक्षमा देखिएको हो। जसका लागि केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को सातौँ संशोधन, २०८१' लागु गरेको छ।
उक्त कार्यविधिअनुसार राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा स्थायी निक्षेप सुविधालाई लिएको छ। अहिले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत कायम छ। उक्त सीमामा रहेर बैंकले स्थायी तरलता सुविधा लिइरहेका छन्।
राष्ट्र बैंकले कार्यविधि संशोधन गरी स्थायी तरलता लिनका लागि स्वदेशी मुद्राको बचत र मुद्दती निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको हुनुपर्ने व्यवस्था गरेको छ। संशोधित व्यवस्थाअनुसार ३ प्रतिशतभन्दा तल बचत, व्यक्तिगत र संस्थागत मुद्दतीको ब्याजदर कायम भएका बैंकले स्थायी तरलता सुविधा लिन पाउने छैनन्।
राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गरी प्रणालीमा अधिक तरलता भएमा रकम प्रशोचन गर्ने र तरलता अभाव भएमा आवश्यक रकम प्रवाह गर्ने गर्छ। यसका राष्ट्र बैंकले रिपो/रिभर्स रिपो बोलकबोल तथा निक्षेप संकलन बोलकबोलमा आधारित नियमित खुला बजार कारोबार गर्छ।
अहिले बैंकमा ४ खर्ब बढी लगानी योग्य रकम मौज्दात छ। राष्ट्र बैंकले पटक-पटक गरी न्यूनतम ३ प्रतिशत ब्याज दिएर बैंकहरूको रकम निश्चित समयका लागि राखिदिने गरेको छ। बैंकहरूले कर्जा प्रवाह गर्न नसकेर भल्टमा थन्क्याउने पैसा राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिएर राख्दा केही खर्च व्यवस्थापनमा सहज हुँदै आएको छ। मंगलबार मात्रै राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत् बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिचेको छ।
अधिक तरलताको स्थिति देखिएमा शोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न राष्ट्र बैंकले अबलम्बन गर्ने मौद्रिक उपकरणले सर्वसाधारण निक्षेपकर्ताका लागि न्यूनतम ब्याजदरसमेत सुनिश्चित गरिदिएको छ। खुला बजार कारोबारअन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलनमा भाग लिनका लागि अब बैंकहरूले निक्षेपकर्तालाई ३ प्रतिशतसम्म ब्याज दिनैपर्ने हुन्छ।
पुस महिनामा सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न जाँदा साधारण बचतमा न्यूनतम २.५० प्रतिशतमाथि ५.७० प्रतिशतसम्म ब्याजदर पाउँछन्। ३ महिनामाथिको मुद्दती निक्षेपमा ३ प्रतिशतमाथि ८ प्रतिशतसम्म ब्याज पाउँछन्।
साथै, संस्थागत निक्षेपकर्ताले २ प्रतिशतदेखि ५.६० प्रतिशतसम्म ब्याज पाउने गरी बैंक तथा वित्त कम्पनीले पुस महिनाको लागि ब्याजदर कायम गरेका छन्। पुस महिना कृषि विकास बैंक, कर्णाली विकास बैंक र नारायणी डेभलपमेण्ट बैंकले निक्षेपकर्तालाई ३ प्रतिशतभन्दा तल ब्याज दिएकाले राष्ट्र बैंकले प्रदान गर्ने स्थायी निक्षेप सुविधाबाट बञ्चित हुनुपर्ने देखिन्छ।